समाचार

आयोगद्वारा एक यात्रुवाहक बसमाथि छानबिन

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भारतको नयाँ दिल्लीबाट बाँकेको नेपालगञ्ज हुँदै काठमाडौँ आइरहेको एक यात्रुवाहक बसमा राजश्व छली गरी सामान आयात भएको विषयमा छानबिन गरिरहेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार गत चैत ३० गते काठमाडौँ आइरहेको ना५ख ४८४२ नंको यात्रुवाहक बसमा भन्सार छली तस्करीका सामान ल्याइएको भन्ने सूचनाका आधारमा महानगरीय वृत्त स्ययम्भूले काठमाडौँ महानगरपालिका १५ चमतीबाट बस नियन्त्रणमा लिएको थियो ।

बस नियन्त्रणमा लिई जाँच गर्दा सामान छुटाउने प्रयोजनका लागि प्रहरीलाई सोही बसको चालक श्याम विश्वकर्माले रु तीन लाख र दीपा राना र भरत तामाङले रु ५० हजार घुस दिन खोजेका थिए । प्रहरीलाई घुस दिन खोजेपछि बस चालक विक, राना र तामाङलाई नियन्त्रणमा लिई प्रहरीले आयोगलाई बुझाएको थियो । आरोपी तीन जनाकै अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।