सुदूरपश्चिम

योजना कार्यान्वयन गर्न प्रदेशसभा सदस्यको माग

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकको विशेष समयमा बोल्ने प्रदेशसभा सदस्यहरुले सरकारका योजना कार्यान्वयनका विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् ।

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का प्रमुख सचेतक तारा लामा तामाङले प्रदेशसभाको दुई तिहाइ बहुमतबाट पारित भएको स्थायी राजधानी स्थापनाको कार्यान्वयनको विषयमा ध्यानाकर्षण गराए । नेकपाकै पूर्णा जोशीले सुदूरपश्चिम प्रदेशमा व्याप्त छुवाछूत तथा विभेद अन्त्यका लागि प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका देवराज पाठकले सरकार गठन भएको एक वर्ष बितिसक्दा पनि जनताले सरकार रहेको अनुभूति गर्न नसकेको तथा आफूहरुलाई पनि सरकारले विभेद गरेको आरोप लगाए । राष्ट्रिय जनता पार्टीका कृष्णबहादुर चौधरीले सरकारले योजनाको कार्यान्वयनमा उदाशीनता देखाएकै कारण अहिलेसम्म जनचाहनाअनुसार काम हुन नसकेको बताए।

बैठकले आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रदेशसभा सचिव र सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र प्रदेशसभा नियमावली २०७४ को संशोधन मस्यौदा समितिको प्रतिवेदनसहितको नियमावलीको मस्यौदालाई पुनः सम्बन्धित समितिमा पठाइयोस् भनी प्रस्तुत गरृको प्रस्तावलाई स्वीकृत गरेको छ । अर्को बैठक बिहीवार दिउँसो ३ बजे बस्नेछ ।