प्रदेश 1

हात्ती नियन्त्रणलाई ६ करोड

बनियानी । हात्तीको उपद्रवबाट आक्रान्त दक्षिणी झापावासीले अब राहत पाउने भएका छन् । झापाको हल्दिबारी र कचनकवलस्थित जलथल चारकोशे जङ्गलमा विद्युतीय तारवार गरिने भएपछि यहाँका बासिन्दाले राहत पाउने भएका हुन् । नेपाल सरकारको प्रकृति संरक्षण कोषअन्तर्गत रु ६ करोडको लागतमा जलथल चारकोशे जङ्गल क्षेत्रको करीब ४५ किलोमिटर क्षेत्रमा तारवार गर्न लागिएको हल्दिबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए ।

उनका अनुसार हल्दिबारी गाउँपालिका–३, ४, ५ र कचनकवल गाउँपालिका–१, ६ र ७ मा विद्युतीय तारवार गरिनेछ । “हात्तीको सास्ती व्यहोरिरहेका यहाँका बासिन्दाले अब राहत पाउने छन्”, उनले भने, “बर्सेनी हुँदै आएको जनधनको क्षति न्यूनीकरण हुने आशा छ ।”

हात्ती नियन्त्रणका लागि पहिलो चरणमा जलथल जङ्गल वरिपरि विद्युतीय तारवार गर्न लागिएको डिभिजन वन कार्यालय झापाका सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जानकारी दिए “तारवारका लागि ठेक्का लागिसकेको छ”, उनले भने “तारवारका लागि तीन वटा कम्पनीले संयुक्त रुपमा काम गर्नेछन् ।”

विद्युतीय तारवारका लागि न्यू क्रिएशन, पशुपति र फ्रेञ्च गार्ड जेभीले ठेक्का पाएको सहायक वन अधिकृत उप्रेतीले जानकारी दिए । झापाको महेशपुर, जलथल, पृथ्वीनगर, गरामनी, दुहागढी, बाहुनडाँगी, शान्तिनगर, बुधबारे, शनिश्चरे, अर्जुनधारा, शिवसताक्षी, तोपगाछी लगायतका स्थान हात्ती प्रभावित क्षेत्र हुन् । हाल झापाको जङ्गलमा १० देखि १५ वटा हात्ती स्थायी रुपमा बस्दै आएको सहायक वन अधिकृत उप्रेतीले बताए ।