खेलकुद

आठौँ राष्ट्रिय खेलकूद : बास्केटबलतर्फ पुलिस र प्रदेश ३ फाइनलमा

घोराही । दाङमा जारी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत बास्केटबल महिलातर्फ नेपाल पुलिस क्लब र प्रदेश ३ फाइनलमा प्रवेश गरेका छन् ।

आज सम्पन्न सेमिफाइनलमा पुलिसले सुदूरपश्चिम प्रदेशलाई ५५–४४ अङ्कले हराउँदै फाइनलका लागि स्थान बनाएको हो । अर्को सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गरी प्रदेश ३ फाइनल प्रवेश गरेको हो । प्रदेश ३ ले आर्मीलाई ३९–२३ अङ्कले हराउँदै फाइनलमा पुगेको हो ।

यस्तै पुरुष बास्केटबलमा त्रिभुवन आर्मी र प्रदेश ३ फाइनल पुगेका छन् । आर्मीले नेपाल पुलिस क्लबलाई ८५–७१ अङ्कले हराएको हो भने प्रदेश ३ ले गण्डकी प्रदेशलाई ९३–६३ अङ्कले पराजित गरी फाइनलका लागि स्थान बनाएका हुन् । बास्केटबलको दुवै स्पर्धाको फाइनल खेल बुधबार हुने जिल्ला बास्केटबल सङ्घका अध्यक्ष विपिन केसीले जानकारी दिए ।