समाचार

तोकेबमोजिमको पारिश्रमिक उपलब्ध गराउने भएपछि मजदूर काममा फर्किए

काठमाडौँ । सरकारले तोकेबमोजिमको न्यूनतम पारिश्रमिक उपलब्ध गराउने भएपछि झापाको मेचीनगर–७ मा रहेको राज टि स्टेटका मजदूर आजदेखि पुनः काममा फर्किएका छन् ।

मेचीनगर नगरपालिकाको पहलमा उक्त स्टेटका सञ्चालक सन्तोष सुब्बाले सामाजिक सुरक्षा ऐन २०७५ र नेपाल सरकारले तोकेको चिया श्रमिकको न्यूनतम रु ३८५ गत साउन १ गतेदेखि नै उपलब्ध गराउने र ऐनले तोकेअनुसारको न्यूनतम पारिश्रमिक दिने सहमति भएपछि मजदूर काममा फर्किएका हुन् ।

टि स्टेटले कारखाना र बगानका १५० मजदूरलाई रोजगारी प्रदान गर्दै आएको सञ्चालक सुब्बाले बताए । झापामा साना ठूला गरी ५०० बढी बगान रहेका र बगान व्यवस्थापन पक्षले मजदूरका कारण बगान बन्द भएकाले स्वयं मजदूरले नै बिनासर्त बगान खोल्नुपर्ने अडानमा सञ्चालक थिए ।

अखिल नेपाल ट्रेड यूनियन महसङ्घ प्रदेश नम्बर १ का इञ्चार्ज भुपाल सापकोटाले चिया बगान र कारखानाका मालिकले राजपत्रमा उल्लेखित पारिश्रमिक कार्यान्वयनमा नल्याएसम्म आन्दोलन जारी रहने बताएका थिए ।

उनका अनुसार सरकारले न्यूनतम ज्यालाबमोजिम चिया बगानमा कार्यरत श्रमिकको पारिश्रमिक दैनिक रु २३१ र महँगी भत्ता १५४ गरी जम्मा ३८५ पाउनुपर्ने थियो तर त्यो पनि नपाएका कारण चिया मजदूर गत चैत १७ गतेदेखि आन्दोलित हुँदै आएका थिए । झापा, इलाम, धनकुटा, पाँचथर र तेह्रथुममका चिया बगान र कारखानामा कार्यरत मजदूर एकैसाथ आन्दोलनमा उत्रिएका हुन् ।