आर्थिक

साधारण शेयर बाँडफाँट

काठमाडौँ । निजी क्षेत्रको प्रवद्र्धक हिमालय ऊर्जा विकास कम्पनीको साधारण शेयर आज बाँडफाँट भएको छ । शेयर बिक्री प्रबन्धक नबील इन्भेष्टमेन्ट एण्ड बैंकिङका अनुसार साधारण शेयरमा आवेदन गर्ने ६९ हजार ६७० आवेदकमध्ये ६६ हजार ९५० लाई २० कित्ताका दरले शेयर प्रदान गरिएको छ । यस्तै दुई हजार ७२० लाई भने १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ ।

कूल सदर आवेदकमध्ये ९६ प्रतिशतले २० कित्ता र तीन दशमलव नौ प्रतिशतले १० कित्ता शेयर प्राप्त गरेका छन् । साधारण शेयरमा कूल ६९ हजार ७०८ वटा आवेदन परेको थियो । यस्तै ३८ आवेदकबाट परेको दुई हजार ८०० कित्ताको माग भने रद्द भएको छ ।

कम्पनीले गत चैत २० देखि २५ गतेसम्म कूल १४ लाख ८५ हजार कित्ता साधारण शेयर बिक्री गरेको थियो । सोमध्ये कर्मचारीलाई तीन प्रतिशत र सामूहिक लगानी कोषलाई पाँच प्रतिशत शेयर छुट्याइएको थियो । बाँकी रहेको १३ लाख ६६ हजार २०० कित्ता शेयर सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

कम्पनीले रामेछाप र दोलखा जिल्लाको सीमा भएर बग्ने खिम्ती खोलामा १२ मेगावाट क्षमताको उपल्लो खिम्ती र सात मेगावाटको अपर खिम्ती गरी कूल १९ मेगावाट क्षमताका दुई आयोजना निर्माण गरिरहेको प्रबन्धक प्रकाश दुलालले जानकारी दिए । आयोजनाको कूल लागत तीन अर्ब १५ करोड छ । दुवै आयोजना आगामी असारमा सम्पन्न हुने बताइएको छ ।