खेलकुद

नेपालले ओमनलाई १५० रनको भारी अन्तरले हरायो

काठमाडौँ । आइसिसी उन्नाइस वर्षमुनि ‘यु १९’ एक दिवसीय विश्वकप क्रिकेटको एशिया छनोटअन्तर्गत आज भएको चौथो खेलमा नेपालले ओमनलाई पराजित गरेको छ । मलेशियाको शिलानगोर ट्रफ क्लबको मैदानमा भएको खेलमा नेपालले ओमनलाई १५० रनको भारी अन्तरले पराजित गरेको हो । यस जितसँगै नेपालको विश्वकपमा छनोट हुने सम्भावना जीवितै रहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४३ दशमलव दुई ओभरमा सबै विकेट गुमाउँदै २२९ रनको योगफल तयार गयो । जवाफी ब्याटिङमा उत्रेको ओमन ४४ दशमलव एक ओभरमा सबै विकेट गुमाएर ७९ रनमा समेटियो । ओमनका लागि अमनप्रित सिंह र जिल तन्नाले समान १३/१३ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । ओमनलाई सस्तैमा समेट्ने क्रममा नेपालका पवन सर्राफ एक्लैले तीन विकेट लिए ।

त्यस्तै सूर्य तामाङ र प्रतिष जिसीले समान दुई/दुई विकेट तथा कौशल मल्ल, भीम सार्की र कमल सिंहले एक÷एक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ७५ रनको योगदान दिए । त्यसैगरी प्रतिष जिसीले ४१, भीम सार्कीले ३९, अभिषेक बस्नेतले १५ तथा रित गौतमले १० रन जोडे ।

बलिङतर्फ ओमनका मुजाहिर राजा, सञ्जय रवीन्द्र, जिल तन्ना र अजम अलीले दुई/दुई विकेट झारेका थिए । यसअघि तीन खेल खेलेको नेपालले दुई खेलमा जीत तथा एक खेलमा पराजय भोगेको थियो । नेपालले पहिलो खेलमा सिङ्गापुरलाई २१७ रनको भारी अन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा युएइसँग एक रनले पराजित भएको थियो । त्यस्तै तेस्रो खेलमा नेपालले मलेशियालाई आठ विकेटले हराएको थियो ।

अब नेपालले छनोटको अन्तिम खेल यही चैत ५ गते बिहीबार कुवेतसँग खेल्नेछ । उक्त छनोट प्रतियोगिताको विजेता टोलीले दक्षिण अफ्रिकामा सन् २०२० मा हुने विश्वकपमा सहभागिता जनाउने छन् ।