प्रदेश 2

उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई मृत्युदण्डको सजाय हुनुपर्छः मुख्यमन्त्री राउत

औषधिको प्रयोग गरी वस्तु बिक्री गर्ने व्यक्ति मानव हत्यारा हुन, यस्तालाई मृत्युदण्डको सजाय हुँनु पर्छ–मुख्यमन्त्री राउत

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ताको जीवनसँग खेलबाड गर्नेलाई मृत्युदण्डको सजायको व्यवस्था हुनुपर्ने बताएका छन । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज यहाँ आयोजित उपभोक्ताको मानवअधिकार अवस्था विषयक प्रदेशस्तरीय कार्यशालाको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले फर्मालिन ‘शवलाई गन्हाउन नदिने’ औषधिको प्रयोग गरी वस्तु बिक्री गर्ने व्यक्ति मानव हत्यारा हुन् भने ।

विगतमा काठमाडौँ उपत्यकामा बिक्री हुने गरेका सडेका मिठाईलाई गुँदपाक बनाई बिक्री गर्ने व्यवसायीले मानवको जीवनसँग खेलबाड गर्दा पनि दण्डित नहुनु विडम्बना भएको प्रसङ्ग उल्लेख गर्दै उनले उपभोक्तालाई रोगी बनाउने वस्तु बिक्री गर्नेलाई अपराधीसरह कानूनी कारवाही गर्न आवश्यक भएको बताए । मुख्यमन्त्री राउतले खुला रूपले बिक्री गर्ने मिठाई, मासु, झिल्ली, कचरीलगायतका व्यवसायीमाथि कारवाही प्रक्रियालाई प्रभावकारी बनाउनु पर्ने खाँचो औँल्याए ।

जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले बजार अनुगमन गर्ने संरचनामा समन्वय, सहकार्य र एकरूपता कायम हनुपर्ने बताउँदै उपभोक्ता शिक्षामा आम उपभोक्ताको पहुँच अहिलेसम्म हुन नसकेको प्रसङ्ग उल्लेख गरे ।

प्रदेश नं २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले उपभोक्ताको संरक्षण मानवअधिकार वा कानूनी विषयबारे विश्वव्यापी बहस बनेको बताउँदै उपभोक्ता संरक्षण ऐनले सबैको दायित्वलाई व्यवस्थित गरेको उल्लेख गर्नुभयो । धनुषा जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले आगामी दिनमा उपभोक्ताको हितलाई ध्यानमा राखी धनुषा जिल्लामा खुला रूपमा दुग्ध बिक्री वितरणमा रोक लगाइने जानकारी गराए ।

जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष ललित साहले खाद्य र कपडाका व्यवसायी पलायनको अवस्था आएको बताए । उपभोक्ता हित संरक्षण मञ्च नेपालका अध्यक्ष ज्योति बानियाँले दोषीउपर कारवाहीको अवस्था कमजोर भएका कारण पनि उपभोक्ताका गुनासो बढ्दै गएको छ भने । आयोगका सदस्य मोहना अन्सारीले संविधान र कानूनले उपभोक्ता अधिकारको संरक्षणका लागि सङ्घ, प्रदेश र स्थानीय तहलाई जिम्मेवार बनाउने गरी कानूनी व्यवस्था गरेको बताए ।