गण्डकी प्रदेश

प्रदेशसभा सदस्यद्वयले गराए मुख्यमन्त्रीलाई ध्यानार्कषण

गल्कोट । प्रदेशसभा सदस्यद्वय इन्द्रलाल सापकोटा र चन्द्र सागर बुढाले गल्कोटसहित बागलुङका विभिन्न क्षेत्रमा बाढी र वर्षाले पुर्‍याएको क्षतिका बारेमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ध्यानार्कषण गराएका छन् ।

बागलुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्यद्वयले बाढी तथा वर्षाका कारण भएको क्षति तथा राहतका विषयमा आज मुख्यमन्त्री निवासमा पुगेर उनलाई ध्यानार्कषण गराएका हुन् । सो अवसरमा मुख्यमन्त्री गुरुङले बाढीपीडितको उचित व्यवस्थापनका लागि राहत प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरेको सदस्य सापकोटाले बताए ।

प्रदेशसभा सदस्यद्वयले बागलुङको गल्कोट, काठेलाखोला र जैमिनीमा भएको प्राकृतिक विपत्तिका बारेमा जानकारी गराउँदै क्षतिको विवरणका आधारमा राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरे। आइतबार दिउँसो परेको भीषण बाढी र असिना पानीले गल्कोटसहित जिल्लाका विभिन्न सस्थानमा ठूलो क्षति पुर्‍याएको छ । बाढीका कारण गल्कोट क्षेत्रमा करिब रु पाँच करोडको नोक्सानी भएको छ ।

वर्षा पछिको बाढीका कारण गल्कोटको दुदिलाभाटीस्थित गौदिखोला लघुजलविद्युत पहिलो, दोस्रो र चौँथो आयोजनामा क्षति पुर्‍याउँदा विद्युत् सेवा अवरुद्ध बनेको छ भने दुदिलाभाटीका स्थानीय ग्रामीण सडक समेत अवरुद्ध भएका छन् । बाढीबाट एक दर्जन गोठ तथा घरमा आंशिक क्षति पुर्‍याएको गल्कोट नगरपालिकाले जनाएको छ ।

बाढीका कारण दुदिलाभाटीका खेतीयोग्य जमीन बगरमा परिणत भएका छन् । गल्कोट नगरपालिकाले बाढीपीडितका लागि राहतकोष स्थापना गरेर सहयोग गर्ने घोषणा गरेको छ ।