राजनीति

नेता आचार्यले तोके पार्टी एकताको मिति, कार्यकर्तालाई कार्यविधि अनुशार जिम्मेवारी दिइने

बेनी । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भीम आचार्यले वैशाख ९ गते भित्रमा पार्टी एकताले मूर्तरुप लिने बताएका छन् । नेकपा म्याग्दीले आज बेनीमा आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा नेता आचार्यले पार्टीका शीर्ष नेतृत्व एकतालाई छिट्टै निष्कर्षमा पुर्याउने कसरतमा जुटेको बताएका छन् ।

उनले वैशाख ९ गते परेको नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको दिनसम्म एकताको प्रक्रिया टुङ्ग्याएर पार्टीलाई बलियो बनाउने तयारी भइरहेको बताए । “अब पछि फर्कने ठाउँ छैन, एकता मार्फत् एकताबद्ध भएर अघि बढ्नुपर्छ, निश्चित कार्यविधिको आधारमा नेता तथा कार्यकर्तालाई जिम्मेवारी दिनुपर्छ”, नेता आचार्यले भने ।

वर्तमान सरकारले जनताको अपेक्षा बमोजिम कार्य गर्नको लागि आधार तयार गरिसकेको बताउँदै उनले नयाँ सविधान, सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिनिधित्व जस्ता उपलब्धिको रक्षा गर्दै मुलुकलाई विकास र समृद्धितर्फ अगाडि बढाउनुपर्ने बताए । उनले जनतामा सार्वभौमसत्ताको अधिकार रहेकाले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रहसमेत गरे ।