प्रदेश 1

सामुदायिक वन डढेलोको उच्च जोखिममा

भद्रपुर । झापाका सामुदायिक वन आगलागीको उच्च जोखिममा रहेको पछिल्लो तथ्याङ्कले देखाएको छ । डिभिजन वन कार्यालय झापाका अनुसार चालू आर्थिक वर्षको पाँच महीनाको अवधिमा मात्र १० सामुदायिक वनमा आगलागी भएको छ ।

चालू आर्थिक वर्षको मङ्सिरदेखि चैत मसान्तसम्ममा १० सामुदायिक वनमा आगलागी हुँदा ५८.७५ हेक्टर वनक्षेत्र प्रभावित बनेको डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । आगलागीबाट प्रभावित हुने सामुदायिक वनमा मेचीनगर, भद्रपुर नगरपालिका, हल्दिबारी, केचनाकवल र बाह्रदशी गाउँपालिकाका रहेका छन् । जिल्लामा जम्मा ५९ सामुदायिक वन रहेका छन् ।

वनमा आगो लगाउँदा गाईवस्तुलाई खुवाउने घाँस पलाउने, जङ्गली जीवजन्तुबाट बच्न सकिनेलगायतका कारण वन नजिकै रहेका उपभोक्ताले नै सामुदायिक वनमा आगो लगाउने गरेको हुनसक्ने बताउँदै प्रमुख घिमिरेले भने, “उपभोक्ताले नै चाँडै हरियो घाँस पलाउने र वनमा खुला भयो भने टाढैबाट जङ्गली जनावर आएको देख्न सकिने कारण आगो लगाउने गरेका छन् ।”

उनले हालसम्म आगो लगाउने व्यक्ति वा समूहको पहिचान हुन नसकेको बताए । फेला परेमा उनीहरुलाई कानूनअनुसार कारवाही गर्ने उनको भनाइ छ । प्रमुख घिमिरेले जिल्लाका सामुदायिक वन उच्च आगलागीको जोखिममा नभएर न्यून जोखिममा रहेको बताए । वनमा हुने डढेलोले जैविकता तथा पर्यावरणमा समेत नकारात्मक असर पार्ने हुँदा नियन्त्रणका निम्ति वाटरसुटर, बेल्चा, दाँतेलगायतका आवश्यक सामग्री वनलाई कार्यालय मार्फत वितरण गरिएको उनले बताए ।

नेपालमा डढेलोको प्रकोप वैशाख र जेठमा हुने भए पनि जिल्लाका अधिकांश वनमा माघ÷फागुनमा आगलागी भएको सामुदायिक वन महासङ्घका झापा अध्यक्ष वेदप्रसाद भण्डारीले बताए । उनले यसपालि यति चाँडै धेरै वन क्षेत्रमा डढेलो लाग्नुमा पानी समयमा नपर्नु र वनक्षेत्र सुख्खा भएका कारण रहेको बताए । पछिल्लो समय वनमा चोरीसिकारी बढेको कारणले उनीहरुबाट पनि आगलागी हुने गरेको बताउँदै उनले भने, “जङ्गली जनावरको सिकार गर्न वनक्षेत्रमा पसेका सिकारीले हरिण, मृग लगायतका जनावर खोज्न सजिलो हुँदा पनि आगो लगाउने गर्छन् ।”

उनले डढेलोको मुख्य कारण मानवीय हेलचेक्या्रइँ नै भएको बताए। डढेलो नियन्त्रणका लागि सामुदायिक वन महासङ्घ र डिभिजन वन कार्यालयले जिल्लाभर सचेतनामूलक कार्यक्रम गर्दै आएको बताए ।