पर्यटन/संस्कृति

मनै लोभ्याउँने ‘रिमिघा लेक’ वनभोज आउनेको सङ्ख्या बढ्दो

बेझाड । प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको रिमिघा लेकमा पुगेपछि प्रकृतिसँग नरमाउने सायद कमै होलान् । यसको सुन्दरताले यहाँ पुग्ने जोकोहीको पनि मन लोभ्याइरहेको हुन्छ ।

रम्भा गाउँपालिका–२ फोक्सिङकोट र ३ पिपलडाँडाको माथिल्लो भागमा अवस्थित रिमिघा लेक पछिल्लो समय पर्यटकीय गन्तव्यस्थलका रुपमा चिनिन थालेको छ । धार्मिक, ऐतिहासिक, प्राकृतिक र वातावरणीय सौन्दर्य, जैविक विविधताका साथै पर्यटकीय महत्व बोकेको रिमिघा लेक सुन्दर र रमणीय छ । लेक समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको छ ।

यहाँ जोगी गुफा, देश हेर्ने ढुङ्गा, विशाल चौर, टुँडिखेल, इनार, भुरे राजाले बनाएको घरका भग्नावशेष, तीनकन्या मन्दिर, कालिकादेवी मन्दिर लगायतका धार्मिक तथा ऐतिहासिक स्थल छन् । यहाँबाट उत्तरतर्फ रहेका अग्लाअग्ला अन्नपूर्ण तथा धवलागिरि हिमशृङ्खलाका दृश्य अवलोकन गर्न पाइन्छ । तलतिर नागबेली आकारमा बहेको कालीगण्डकीको मनमोहक दृश्यले पर्यटकलाई लोभ्याइरहेको हुन्छ ।

ताहुँमा रहेको प्रसिद्ध रम्भादेवी मन्दिरदेखि दक्षिणतिर लगभग दुईदेखि साढे दुई किलोमिटरको दूरीमा रिमिघा लेक पर्छ । पूर्वपट्टी फोक्सिङकोटको झोकेदी, पश्चिपट्टि पिपलडाँडाको माथिल्लो घोङसिङ, उत्तरतर्फ फोक्सिङकोटको बोरोङसे, नम्टाहा, दक्षिणपट्टि फोक्सिङकोटकै झोकेदी भाग रिमिघा लेकसँग जोडिएको छ । यहाँ पाल्पा, स्याङ्जा लगायतका विभिन्न स्थानका आन्तरिक पर्यटक घुमफिर गर्न तथा वनभोज कार्यक्रमका निम्ति पुग्ने गरेका छन् । पछिल्लो समय रिमिघा लेक आन्तरिक पर्यटकको गन्तव्यस्थल बनिरहेको छ ।

पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका निम्ति वैशाखभित्रमा यहाँ रिमिघा महोत्सव आयोजना गर्ने गाउँपालिकाले तयारी गरिरहेको छ । महोत्सवमा प्रसिद्ध रम्भादेवी मन्दिरको दर्शन गरेर रिमिघा लेकसम्म पर्यटक भित्र्याउने लक्ष्य छ । रिमिघा लेकको तल्लो भागमा ३०० मिटर जति सडक जोडिन बाँकी रहेकाले अहिले सडक बनाउने काम भइरहेको छ । तल्लो भागसम्म सडक जोड्ने र त्यहाँबाट १० मिनेट जति रिमिघा लेकसम्म पुग्न पैदलमार्ग निर्माण गर्ने गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारी बताउँछन् ।

“सडक नपुगेकाले सडक निर्माणमा जोड दिएका छौँ, रिमिघा लेकको तल्लो भागसम्म सडक जोड्ने काम सकिएपछि, पूर्वाधार विकास निर्माणका काम गर्ने गाउँपालिकाले योजना बनाएको छ”, अध्यक्ष भण्डारीले बताए । अत्यन्त सुन्दर र समथर भूमिमा अवस्थित यस रिमिघा लेकमा पौराणिक समयमा राजा तथा ऋषिमुनिले तपस्या गरेको धार्मिक मान्यता छ ।

यस क्षेत्रमा खानेपानी व्यवस्थापन, क्रीडास्थल निर्माण, जोगी गुफा जाने बाटो निर्माण, दृश्यावलोकन स्तम्भ निर्माण, मोबाइल टावर निर्माण तथा साहसिक खेल प्याराग्लाइडिङको विकास गर्न सकेको खण्डमा पर्यटन विकासमा ठूलो टेवा पुग्ने देखिन्छ । विशेषगरी रिमिघा लेकमा नयाँ वर्षको अवसरमा घुम्न आउने पर्यटकको बढी चहलपहल हुन्छ । यस वर्षको नयाँ वर्षको पहिलो दिन मात्रै करीब छ हजार पर्यटक भित्रिएको बताइएको छ ।

यहाँ दिनहुँजसो विभिन्न स्थानबाट वनभोज आउनेको सङ्ख्या बढ्दो छ । वनभोज र घुमफिर गर्न आउने आन्तरिक पर्यटकलाई मध्यनजर राख्दै यहाँका स्थानीय युवाले खेलकूद, खानेपानी तथा साउण्ड सिस्टमको व्यवस्था गरिदिएका छन् ।