प्रदेश 1

हलेसीमा बस दुर्घटना: एकको मृत्यु, १४ गम्भीर घाइते

खोटाङ । काठमाडौँबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १४ गम्भीर घाइते भएका छन् ।

चालक र सहचालकसहित १५ सवार ना४ख ७४११ नंको बस गए राति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते बनेका राईको एम्बुलेन्समार्फत उपचार गराउन जिल्ला अस्पताल दिक्तेल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले बताए । घाइतेमध्ये चालकसहित सातलाई थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल पठाइएको छ भने अन्य छ जनालाई जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ ।

दुर्घटनाका घाइतेको नाम अहिलेसम्म खुल्न सकेको छैन । बस सडकबाट चिप्लिएर १५/२० मिटर तल झरेपछि कोल्टिएर अड्किएकाले ठूलो क्षतिबाट जोगिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक भुवनबाबु खड्काले बताए । सहचालक ओत हाल्न ओर्लिकाले दुर्घटनाबाट जोगिएको प्रहरीले जनाएको छ । उद्धारलगत्तै स्वास्थ्यचौकी दुर्छिम लगिएका अन्य छ घाइतेलाई थप उपचारका लागि आज (मङ्गलबार) बिहान जिल्ला अस्पताल दिक्तेल ल्याइएको हो ।