अन्तर्राष्ट्रिय

नागरिक सरकारका लागि अधिकारवादीहरूको दवाव

खर्तुम । सुडानमा नागरिक सरकार गठन गर्नका लागि नागरिक अगुवाहरूले दवाव दिएका छन् । केही दिन अगाडी गठन भएको अन्तरिम सैन्य परिषद्लाई नागरिक सरकारमा परिणत गर्न उनीहरूले सोमबार माग गरेका हुन् ।

सैनिक मुख्यालय अगाडि विगत दश दिनदेखि भइरहेको आन्दोलनलाई सम्बोधन गर्न नागरिक अगुवाहरूले सैन्य उच्च अधिकारीहरूलाई आग्रह गरेका छन् । प्रदर्शनकारीहरूलाई मुख्यालय अगाडिबाट हटाउने प्रयास भइरहेको विषयमा पनि उनीहरूले आपत्ति जनाएका छन् । सुडानमा लामो समयदेखि भइरहेको प्रदर्शनका कारण केही दिन अगाडि शक्तिशाली राष्ट्रपति ओमार अल बशिरलाई सैन्य अधिकारीहरूले पदच्यूत गरिदिएका थिए ।

सैनिक मुल्यालय अगाडि आन्दोलन गरिरहेकाहरूले बशिरलाई हटाउन माग गरेका थिए । तर उनीहरूकै मागलाई आधार बनाएर सैन्य नेतृत्वले बशिरलाई पदच्यूत गरेर आफैले शक्ति हातमा लियो । बशिरलाई पदच्यूत गर्नु ठिक भए पनि सैनिक आफैले सत्ता हातमा लिनुलाई आन्दोलनकारीहरूले ठिक मानेका छैनन् । उनीहरूले तत्काल स्वतन्त्र व्यक्तिहरू सहभागी भएको नागरिक सरकार गठन गरेर लोकतान्त्रिक प्रक्रियालाई अगाडि बढाउन माग गरेका छन् ।

देशभित्रका नागरिक अगुवा, विपक्षी पार्टीहरूसहित विभिन्न अन्तर्राष्ट्रिय निकायहरू र विभिन्न देशहरूका कूटनीतिक अधिकारीहरूले पनि सुडानमा लोकतान्त्रिक व्यवस्थाका लागि आग्रह गरेका छन् । सन् १९८९ कु गरेर शासन गर्दै आउनु भएका ओमारलाई विगत चार महिनादेखि भएको रक्तपातपूर्ण आन्दोलनपछि सैन्य उच्चअधिकारीहरूले पदमुक्त गरिदिएका हुन् ।

सुडानमा ३० बर्षदेखि शासन गरेका तत्कालीन राष्ट्रपति बशिरलाई हटाएर सैन्य परिषद् गठन गरिएपछि नागरिक सरकार गठनको माग गर्दै प्रदर्शनहरू पनि भइरहेका छन् ।