लुम्बिनी

कृषि, पर्यटन र ऊर्जालाई सरकारले समृद्ध नेपाल बनाउने लक्ष्यको मेरुदण्ड मानेको छ: मन्त्री बाँस्कोटा

प्यूठान । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारको ‘समृद्ध नेपालः सुखी नेपाली’ लक्ष्य प्राप्तिका लागि पर्यटन प्रवद्र्धनको खाँचो रहेको बताएका छन् ।

नेपाल पत्रकार महासङ्घ र गौमुखी गाउँपालिकाको संयुक्त आयोजनामा भएको ‘गौमुखी मिडिया सम्मेलन’मा मन्त्री बाँस्कोटाले ग्रामीण जनताको जीवनस्तर सुधारका लागि पर्यटन क्षेत्रको प्रवद्र्धनको खाँचो रहेको बताए । “कृषि, पर्यटन र ऊर्जालाई सरकारले समृद्ध नेपाल बनाउने लक्ष्यको मेरुदण्ड मानेको छ”, उनले भने, “विकासका पूर्वाधार निर्माणमा सरकार लागि परेको छ ।” मुलुकमा अन्तर्राष्ट्रिय विमानस्थल, सडक यातायातको पहुँच, रेलमार्ग तथा द्रुतमार्ग निर्माणलाई सरकारले अगाडि बढाएको मन्त्री बाँस्कोटाले बताए ।

ग्रामीण पर्यटनको विकासका लागि घरबास(होमस्टे), ग्रामीण उद्यमशिलताको प्रवद्र्धन, स्थानीय उपजको बजारीकरण, अर्गानिक कृषि उत्पादन, दिगो पर्यावरण संरक्षणलगायत क्षेत्रमा सरकारले ध्यान दिँदै ग्रामीण पर्यटन प्रवद्र्धनलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो । मन्त्री बाँस्कोटाले पर्यटन क्षेत्रमा मिडिया सम्मेलनले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे ।

कृषि, पर्यटन र ऊर्जा क्षेत्रको आमूल परिवर्तनका लागि सरकारले लगानी सम्मेलन गरी नेपालमा लगानीको वातावरण सिर्जना गरेको उनले बताए । पर्यटन क्षेत्रमा पर्यटकीय पूर्वाधार र गन्तव्यको प्रचारप्रसार गरी समृद्ध नेपालको लक्ष्य पूरा गर्न सबै क्षेत्रबाट सहयोग हुनुपर्ने उनको भनाइ थियो ।