शिक्षा

नेपाल र भारतको संस्कृत विश्वविद्यालयबीच शैक्षिक आदानप्रदान सम्झौतामा हस्ताक्षर

काठमाडौँ । नेपाल संस्कृत विश्वविद्यालय र भारतको वाराणसीस्थित सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबीच शैक्षिक आदानप्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

वाल्मीकि विद्यापीठले सोमबार यहाँ आयोजना गरेको सम्पूर्णानन्दका कुलपति प्रा डा राजाराम शुक्लको अभिनन्दन कार्यक्रममा सोबारे जानकारी दिइएको हो । केही दिनअघि वाराणसीमा भएको नेपाल, भारत र चीनका तीन विश्वविद्यालयको सम्मेलनका क्रममा उक्त सम्झौता भएको हो । विश्वविद्यालयका प्राध्यापक, विद्यार्थी र कर्मचारी आदानप्रदान गरी दुवै देशले एक अर्कामा रहेका संस्कृतको ज्ञान बाड्ने जनाइएको छ ।

कार्यक्रममा कुलपति शुक्लले विश्वका अन्य देशले संस्कृति र संस्कार छोड्दा पनि नेपालले नछोडेको बताए । यसअघि भारतका विज्ञ नेपाल झिकाइए पनि नेपालका विज्ञ नगण्य रुपमा मात्र भारत गई ज्ञान बाड्ने अवसर पाउँथे । कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालय अनुसन्धान विभाग प्रमुख प्रा डा काशीनाथ न्यौपाने, विद्यापीठका प्राचार्य डा. गणेश घिमिरेलगायतले संस्कृतको उन्नयनमा दुवै देशका विश्वविद्यालयले सहकार्य गर्दै जानुपर्नेमा जोड दिएका थिए ।