समाचार

पाँच लाख बढीको कारोवारमा प्यान अनिवार्य

काठमाडौँ । रु पाँच लाखभन्दा माथिको शेयर कारोवारमा आजदेखि स्थायी लेखा नम्बर ‘प्यान’ लागू भएको छ । नेपाल धितोपत्र बोर्डको आग्रहमा नेपाल स्टक एक्सचेञ्जले आजदेखि धितोपत्रको कारोवारमा प्यान लागू गरेको हो । रु पाँच लाखभन्दा कम कारोवार गर्नेलाई भने प्यान लागू हुने छैन ।

धितोपत्रको दोस्रो बजारमार्फत कारोवार गर्नका लागि बोर्डले गत कात्तिक १२ गते आवश्यक निर्णय गरी कार्यान्वयनका लागि स्टकलाई निर्देशन दिएको थियो । सोही आधारमा लगानीकर्ताको सहजीकरणका लागि स्टकले स्थायी लेखा नम्बर दर्ता सहजीकरण डेस्कसमेत खडा गरेको थियो ।

पछिल्लो पटक चैत १२ गते लगानीकर्ताको माग र सरोकार भएका निकायको ध्यानाकर्षणपछि रु पाँच लाखभन्दा कम कारोवार गर्नेलाई भने ऐच्छिक रुपमा मात्रै प्यान लागू हुने व्यवस्था गरिएको छ । शेयर बजारलाई थप व्यवस्थित बनाउने लक्ष्यका साथ प्यान लागू गरिएको स्टकले जनाएको छ ।

माउण्टेन हाइड्रोको शेयर कारोवार शुरु

शेयर बजारमा आजदेखि माउण्टेन हाइड्रोपावर लिमिटेडको शेयर कारोवार शुरु भएको छ । नेपाल स्टक एक्सचेञ्जले सो कम्पनीको शुरुआती कारोवारका लागि न्यूनतम रु ९३ र अधिकतम रु २८१ बराबरको मूल्य तोकेको छ ।

कम्पनीले गत चैत २८ गते स्टकमा एक करोड २८ लाख कित्ता शेयर सूचीकरण गरेको थियो । केही समय पहिले मात्रै साधारण शेयर बिक्री गरेको सो कम्पनीसहित शेयर बजारमा २७ जलविद्युत् कम्पनी सूचीकृत भएका छन् ।