समाचार

ज्येष्ठ नागरिक स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी

नवलपरासी । पश्चिम नवलपरासी सुनवल नगरपालिकाले नगरभित्रका सबै जेष्ठ नागरिकलाई उपलब्ध गराएको स्वास्थ्य उपचार बीमा कार्यक्रम प्रभावकारी भएको छ । एक वर्षको अवधिमा तोकिएका स्वास्थ्य संस्थाबाट एक ज्येष्ठ नगारिकले वार्षिक रू ५० हजार बराबरको निःशुल्क स्वास्थ्य उपचार सेवा पाउन सक्ने गरी गरिएको सो कार्यक्रम प्रभावकारी भएको नगरपालिकाको जिकिर छ ।

देवदह मेडिकल कलेज र सुनवल नगरपालिकाबीच ७५ प्रतिशत रकम नगरपालिका र २५ प्रतिशत रकम उक्त कलेजले दिने गरी सम्झौता भएको थियो ।पहिलो चरणमा एक वर्षका लागि लागू गरिएको कार्यक्रमबाट करीब चार सय ज्येष्ठ नागरिकले सेवा लिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख चुडामणि नेपालले बताए ।

नगरपालिकाका अनुसार गतवर्ष दुई हजार ८५८ ज्येष्ठ नागरिकको बीमा गरिएकामा ४०० ले बीमा अनुसारको सेवा लिएका थिए । बीमा गरेका व्यक्तिले एक वर्षभित्र सो मूल्य बराबरको औषधि उपचार, ल्याब, औषधिलगायत सेवा निःशुल्क प्राप्त गरेका थिए । साठी वर्षमाथिका दलित र ७० वर्ष माथिका सबै वर्गका समुदायमा सो अभियान ल्याइएकामा नगरपालिकाले रु ३६ लाख ९५ हजार र करीब रु १३ लाख उक्त कलेजले व्यहोरेको थियो ।

यसैबीच नगरपालिकाले अहिले पनि प्रत्येक चार महीनामा ज्येष्ठ नगारिकको नियमित स्वास्थ्य परीक्षण गर्दै आइरहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नेपालले बताए ।