अन्तर्राष्ट्रिय

विस्फोटमा सात बालबालिकाको मृत्यु

लाघमान । अफगानिस्तानको लाघमान प्रान्तको मिहतार्लाम शहरको बाहिरी इलाकामा आइतबार साँझ एक बेबारिसे बम विस्फोटमा परी घर बाहिर खेलिरहेका सात जना बालबालिकाको ज्यान गएको छ । यस विस्फोटबाट अरु धेरै व्यक्ति घाइते भएको टोलो न्यूजले जनाएको छ । प्रान्तीय गभर्नर असादुल्लाह दवलतजाईले यस घटनाको पुष्टि गर्नु भएको छ ।

अफगानिस्तानमा बारुदी सुरुङ आक्रमणमा परी हरेक महिना कम्तीमा एक सय सात जनाको मृत्यु हुुने गरेको एक सरकारी तथ्याङ्कमा उल्लेख छ ।

अफगानिस्तानका तीन हजार ४०० वर्ग किलोमिटर क्षेत्रमा बिछ्याइएका विस्फोट पदार्थलाई निस्तेज बनाइएको छ, तर अर्को एक हजार ७०० वर्गकिलोमिटर क्षेत्रमा भूमिगत बारुदी सुरुङ सफा गर्न बाँकी रहेको सरकारी अधिकारीले जानकारी दिएका छन् ।