समाचार

अन्य देशका युवालाई २० वर्षभित्र नेपालमा रोजगारी दिने बाटोको सिर्जना गर्छु– मन्त्री अर्याल

बेझाड । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले जनतासँग जोडिएका सेवालाई प्रविधिमैत्री बनाइने बताएका छन् । पाल्पाको रामपुरमा आज नवनिर्मित मालपोत तथा नापी कार्यालय भवनको उद्घाटन कार्यक्रममा उनले मालपोत र नापी कार्यालयका सेवा डिजिटल प्रविधिमा लैजानुपर्ने बताइन ।

उनले अबको एक वर्षभित्रमा १३१ मालपोत र १३१ नापी कार्यालयमा सफ्टवेयर सेवा खडा गरेर हस्तान्तरण गर्ने बताइन् । सफ्टवेयर विकास गर्नमा ढिलाइ भएको बताउँदै मन्त्री अर्यालले मालपोत र नापी कार्यालयमा अपेक्षाकृत सुशासन कायम गर्न नसकिएको बताइन ।

“मालपोत र नापी कार्यालयमा सेवा लिन गएका सेवाग्राहीले निकै सास्ती भोग्नु परेको समस्या अवगत छ, अब देशैभर डिजिटल प्रविधिबाट सेवा प्रवाह गरी आधा घण्टादेखि ४५ मिनेटमा सेवा लिएर फर्कने खालको नमूनाकार्य गर्न लागेको छौँ ” मन्त्री अर्यालले भनीन् ।

पहिलो वर्ष आधार र कानून निर्माण गर्दैमा बितेको बताउँदै अब सरकार मुलुकको समृद्धिमा लागेको मन्त्री अर्यालले बताइन । उनले मुलुकलाई अन्य देशसँग प्रतिस्पर्धा गरी अबको २० वर्षभित्रमा अन्य देशका युवालाई नेपालमा रोजगारका निम्ति आउने बाटो सिर्जना गर्ने प्रतिबद्धता जाहेर गरीन् ।

रवीना कन्ट्रक्सन प्रालिले २०७३ असार १२ गते सम्झौता गरी ३६ कोठा र १४ शौचालयसहितको भवन रु चार करोड ७९ लाख ५७ हजार ५१९ को लागतमा काम गरेको हो । कार्यक्रममा भूमि व्यवस्था तथा महालेखा निर्देशनालयका महालेखा निरीक्षक गोकर्णमणि दुवाडीले पाल्पा रामपुरको यस कार्यालय ५५औँ अनलाइन सेवाका रुपमा शुभारम्भ गरिएको बताइन् ।