समाचार

नेकपाको सबै वडा कमिटी एकीकरण

दमौली । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ तनहँुको स्थानीय तहका वडाको एकीकरण पूरा भएको छ । नेकपा जिल्ला सयंन्त्रको बैठकले सबै स्थानीय तहका वडाको एकीकरण कार्य पूरा गरेको हो । तनहुँका १० स्थानीय तहका ८५ वडामध्ये व्यासको एउटा र शुक्लागण्डकीको एउटा वडाबाहेक अन्य सबै वडाको अध्यक्ष र सचिवको टुङ्गो लागेको नेकपा जिल्ला संयन्त्रका सदस्य श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

व्यास नगरपालिका–१० को अध्यक्षमा साबिक नेकपा माओवादी केन्द्रका हरिविलाश अधिकारी र देवका पौडेलले दाबी गरेकी छन् भने शुक्लागण्डकी नगरपालिका–९ मा साबिक नेकपा एमालेका प्रेमबहादुर महत र डिलबहादुर महतले दाबी गरे । उक्त वडाका अध्यक्षको टुङ्गो लगाउने जिम्मेवारी साबिकको पार्टीका नेताले नै लिएको श्रेष्ठले जानकारी दिए । बैठकले अन्य सबै वडाका अध्यक्ष र सचिवसहित वडा कमिटीमा रहने सदस्यको पनि टुङ्गो लगाएको छ । जिल्ला संयन्त्रले केही दिनअघि स्थानीय तहका संयन्त्रलाई वडा कमिटी एकीकरण पूरा गर्न सर्कुलर जारी गरेको थियो ।

सोही अनुसार सबै स्थानीय तहले साबिकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रका संयन्त्रका सदस्यको भेला गराई वडा कमिटीमा रहनेको नाम जिल्ला संयन्त्रलाई सुझाव दिएको थियो । वडा कमिटीको एकीकरण पूरा भएपछि अब गाउँपालिका कमिटी र नगरपालिका कमिटीको एकीकरण गरिने सो पार्टीले जनाएको छ । तनहुँका दश स्थानीय तहमध्ये आँबुखैरेनी गाउँपालिका र ऋषिङ गाउँपालिकाको कमिटी एकीकरण पूरा भइसकेको छ ।

आँबुखैरेनीमा प्रेम गुरुङ अध्यक्ष र रामबहादुर गुरुङ सचिव तथा ऋषिङमा गञ्जसिंह गुरुङ अध्यक्ष र वीरु थापा सचिव रहेको कमिटी सर्वसम्मत चयन गरी अनुमोदनका लागि जिल्ला संयन्त्र र प्रदेश कमिटीमा सिफारिश गरिएको छ ।