कृषि

सीप-जाँगर भए पैसा कमाउन विदेश जानु पर्दैन, आफ्नै गाउँघरमा पनि राम्रो आम्दानी

गलेश्वर । सीप र जाँगर भए पैसा कमाउन विदेश जानु पर्दैन, आफ्नै गाउँघरमा पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण देखाएका छन् म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका शोभित शर्माले ।

जिल्ला सदरमुकाम बेनीबजारसँगै जोडिएको बेनी नगरपालिका–२ का शर्माले खबरा र रोहोटेमा व्यावसायिक तरकारी खेतीबाट वार्षिक रु आठ लाख रुपैयाँभन्दा बढी कमाई गर्दै आएका छन् । विसं २०५२ सालदेखि व्यावसायिक तरकारी खेतीमा लागेका ४३ वर्षीय शर्माको जीवनस्तर तरकारी खेतीबाट नै बदलिएको छ । विगत २३ वर्षअघिसम्म के खाउँ र के लाउँको अवस्थामा भएका शर्माले सो अवधिमा ठाउँठाउँमा घरघडेरी सहितका जग्गा जोड्नुका साथै सदरमुकाम बेनीका बैंक तथा वित्तीय संस्थामा रकमसमेत बचत गरेका छन् ।

शुरुमा तीन रोपनी जग्गाबाट तरकारी खेती शुरु भएका शर्माले अहिले १२ रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती र ३८ रोपनीमा बाख्राका लागि घाँस उत्पादन तथा फलफूल खेती गर्दै आएका छन् । सापकोटा कृषि फार्म स्थापना गरेर प्राङ्गारिक तरकारी खेती गर्दै आएका शर्माले उत्पादन गरेको तरकारीको माग बजारमा उच्च रहेको छ । ‘अग्र्यानिक’ पद्धतिद्वारा व्यावसायिक तरकारी खेतीमा लागेका शर्मा जिल्लाका अगुवा कृषक हुन् ।

शर्माको तरकारी खेती र त्यसबाट प्राप्त हुने आम्दानी देखेर खबराका सबै किसान तरकारी र फलफूल खेतीमा लागेका छन् । “अहिले खबराको गाउँ नै तरकारी र फलफूलको गाउँ भएको छ,” अगुवा कृषक शर्माले भने, “तरकारी र फलफूल बेचेर यहाँका किसानले वार्षिक रु दुई देखि आठ लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

उर्वर माटोमा गाईभैँसीको मलबाट कीटनाशक औषधि प्रयोग नगरी उत्पादन गरिएको गोलभेँडा, सिमी, केराउ, साग, काउली, मूला लगायतका तरकारी उत्पादन गरी नजीकैको बजारमा लगेर राम्रो भाउमा बिक्री वितरण गर्न पाउँदा खबराका किसान दङ्ग छन् । कृषि ज्ञान केन्द्र लगायतका विभिन्न सङ्घसंस्थाले गाउँमा कृषक समूह गठन गरी गरीब किसानलाई तरकारी खेती गर्ने तालीम, बीउबिजन दिएपछि अहिले यस गाउँका किसानको जीवनस्तरमाथि उठ्दै गएको छ ।

मौसम–बेमौसममा समेत राम्रो किसिमले गोलभेडा खेती गर्न टनेल (प्लास्टिक घर) बनाई दिएपछि किसानले बोटैभरि लटरम्म गोलभेँडा फलाउन सफल भएका छन् । प्रतिकेजी रु ४५ देखि ८० सम्म गोलभेँडा बिक्री–वितरण गरेर तुरुन्तै नगद हातमा पार्न सफल भएपछि रोजगारीका लागि विदेश गएका आफ्नो छोराभतिजालाई समेत आफ्नै गाउँ फर्कन खबर गरेको अगुवा कृषक शर्माले बताए ।