गण्डकी प्रदेश

गुठी काठमाडौँद्वारा चापाकोट क्याम्पसलाई पुस्तक सहयोग

बेझाड । गण्डकी सामाजिक गुठी काठमाडौँले चापाकोट क्याम्पसलाई पुस्तक सहयोग गरेको छ । गुठीले आइतबार रु १६ लाख ५० हजार मूल्य बराबरको साहित्य र अन्य विषयका पुस्तक क्याम्पसलाई सहयोग गरेको हो ।

विभिन्न व्यक्ति तथा सामाजिक सङ्घ संस्थाको सहयोगमा सङ्कलित पुस्तक तथा खेलकूदका सामग्री क्याम्पसलाई सहयोगस्वरुप प्रदान गरिएको गुठीका सदस्य कृष्ण आचार्यले बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहनप्रसाद आचार्यले क्याम्पसमै आएर पुस्तक तथा खेलकूदका सामग्री सहयोग गरेकोमा गुठीलाई धन्यवाद दिए ।

सोही अवसरमा भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्ममाकुमारी अर्यालले चापाकोट क्याम्पसका जग्गादान गर्ने दाता स्व टीकानिधि आचार्यको प्रतिमा र त्रिभुवन विश्वविद्यालयको लोगो अनावरण गरिन् । मन्त्री अर्यालले गण्डकी सामाजिक गुठीले शिक्षाको क्षेत्रमा राम्रो काम गरेको बताउँदै यस क्याम्पसले गुणस्तरीय शिक्षामा जोड दिएर नमूना क्याम्पसका रुपमा पहिचान बनाउनु पर्नेमा जोड दिईन् ।

सो अवसरमा कवि गोष्ठी तथा कवितावाचन प्रतियोगितासमेत गरिएको थियो । प्रतियोगितामा टीकाराम पौडेल प्रथम, सिर्जना अधिकारी द्धितीय र रामचन्द्र भट्टराई तृतीय भएका छन् । प्रतियोगितमा विजयी साहित्य सर्जकलाई मन्त्री अर्यालले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिन् ।