खेलकुद

आठौँ राष्ट्रिय खेलकूदः ब्याडमिन्टन शुरु

घोराही । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत आजदेखि ब्याडमिन्टन खेल शुरु भएको छ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवं सांसद जीवनराम श्रेष्ठले उक्त खेलको उद्घाटन गरे । उनले खेल राष्ट्रको चिनारी भएको बताए । “खेलमा राम्रो गर्न सके देशलाई विश्वमा चिनाउन राम्रो माध्यम बन्नसक्छ”, उनले भने, “अन्य विकासका पूर्वाधार जस्तै खेलकूदमा पनि अझै धेरै पूर्वाधार तयार पार्नु पर्नेछ ।” खेललाई युवाका निम्ति बाँच्ने आधार बनाउनुपर्ने उनको भनाइ थियो ।

नेपाल ब्याड्मिन्टन सङ्घका केन्द्रीय अध्यक्ष रामजी श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष डिल्लीबहादुर डाँगीलगायतले उद्घाटन कार्यक्रममा सफलताको कामना गरेका थिए । प्रतियोगितामा सात प्रदेश र तीन विभागीय गरी १० टिमको सहभागिता रहेको छ ।