साहित्य

२०७६ साल यस्तो रहोस

   -कविता                                                                                                                            -डा सुरेन्द्र सिटौला

 

आउने नया बर्षले हाम्रा सन्ततिहरुलाइ
महगो र आकर्षक उपहार नदिए पनि
जीवन धान्नका लागि
अरब जानू पर्ने बाध्यताको लगाम
फुकाइ दिए पुग्छ ।

अरबी साहुको घरमा
बलात्कृत चेलीहरुले भोग्नु परेको
अपमान र पीडा
अबका चेली हरुले
भोग्नु पर्दैन भन्ने
इमान्दार प्रतिज्ञा पत्रमा
आउने नया बर्षले
सहिछाप गरिदिए पुग्छ ।

हराएको हिमालको पुरानो हासो

राजनीतिले चोरेको
मेरो देशको खुसीको नासो
कन्जुस्याइँ नगरी
आउने नया बर्षले
मलाइ नै फर्काइ दिए पुग्छ ।

बिदेश पलायन हुने
छोराछोरी लाई
उसैको घर भित्र
कुना तिर कतै
उसले खोजेको बस्तु
छरपस्ट पोखिएको छ भनेर
आउने नया बर्षले
राम्ररी सम्झाइ दिए पुग्छ ।

देशको अस्तित्व रक्षा गर्दै
नालापानीको युद्धमा
शताब्दीयौं अगाडि
बीरगती प्राप्त गर्ने
महान शहीदहरुको
बीरताको आत्मकहानी
अनि
अपराजित पुर्खाहरुको
सहासको जवानी
उदाउदो पुस्ताको
रगतमा मिसाइदिए पुग्छ ।