समाचार

नेपाली सेनाको ‘एक बिरुवा एक सिपाही’ अभियान’

डोटी । नेपाली सेनाको रुद्रध्वज गणले ‘एक बिरुवा एक सिपाही’ अभियान सञ्चालन गरेको छ । नयाँ वर्षको पहिलो दिन सदरमुकाम सिलगढीस्थित पैयाभन्ज्याङ डाँडाबाट उक्त गणले आफ्नो गणका सैनिक, जिल्लास्थित प्रमुख व्यक्ति तथा स्थानीयवासीलाई सहभागी गराएर सो अभियानअन्तर्गत वृक्षरोपण गरेको हो ।

पर्यावरण संरक्षण गर्न नेपाली सेनाले लागू गरेको ‘गो ग्रीन कार्यक्रम’ उक्त वृक्षरोपण कार्यक्रम गरिएको रुद्रध्वज गणका गणपति एवं प्रमुख सेनानी रत्नकेशर खड्काले बताए । उनले भने, “सेनाको ‘गो ग्रीन कार्यक्रम’अन्तर्गत हामीले जिल्लामा बिरुवा जोगाउनुपर्छ भन्ने मान्यताका साथ अभियान शुरु गरेका हौँ ।” उक्त अभियानअन्तर्गत जिल्लाको ईन्द्रचोक, बारुदखाना र पैयाभञ्ज्याङ क्षेत्र भित्रका विभिन्न ठाउँमा सल्ला, धुपिसल्ला, लहरे पिपल, चिउरी, कपुर र बास गरी कम्तीमा पनि ३०० बिरुवा वृक्षरोपण गरिएको रुद्रध्वज गणका सहसेनानी नरेन्द्र बिसीले जानकारी दिए ।

नयाँ वर्षको शुभारम्भसँगै जिल्लामा पहिलो पटक नयाँ कार्यको थालनी गरिएको वृक्षरोपण कार्यक्रममा सहभागी भएका प्रमुख जिल्ला अधिकारी यादव सुवेदीले बताए । उनले भने, “नयाँ वर्षसँगै नयाँ कार्यको थालनी भएको छ । यसलाई निरन्तरता दिए जिल्ला नै हरियाली हुनेछ ।” सिलगढी नगरपालिकाका नगरप्रमुख मञ्जु मलासी रुख बचाउन सेनाले थालेको अभियानमा सबैको सहयोग र हातेमालो हुनु जरुरी रहेको बताउनुहुन्छ । वातावरणमा पार्ने प्रभावलाई सन्तुलन कायम राख्न वृक्षरोपण आवश्यक भएको प्रहरी नायब उपरीक्षक लालबहादुर धामीको भनाइ छ । सेनाले सार्वजनिक स्थल, मठमन्दिर, पाटी पौवाको निर्माण, सरसफाइलगायत अभियान सञ्चालन गर्दै आएको छ ।