अन्तर्राष्ट्रिय

इरानको बाढीबाट मृत्यु हुनेहरुको संख्या ७६ पुग्यो

तेहरान । इरानमा हालै आएको बाढीका कारण मृत्यु हुने व्यक्तिको संख्या ७६ पुगेको सरकारी अधिकारीहरुले बताएका छन् ।

गत मार्च १९ यता मुलुकका अरु धेरै भूभागमा खोजी र उद्धारको कार्य जारी नै रहेकाले जनधनको क्षति अझ बढ्न सक्ने बताइएको छ ।

पछिल्लो समय इरानका दक्षिणपश्चिम क्षेत्रका दुई वटा प्रान्त बाढीका कारण सबैभन्दा बढी प्रभावित भएका छन् । बाढीका कारण शुरुमा प्रायः सुक्खा भइरहने उत्तरपूर्वी इरानमा जनधनको क्षति भएको थियो । यहाँका गाउँ शहरबाट लाखौं मानिसलाई सुरक्षित स्थानमा सार्नु परेको थियो ।

अधिकारीहरुले इरानको पूर्वी क्षेत्रमा ठूलो वर्षा सहित बाढी आउने पूर्वानुमान गरेका छन् । बाढीले इरानमा घरहरु, सडकहरु, पूर्वाधार र कृषि क्षेत्रमा व्यापक नोक्सानी गरेको छ ।

“चौध हजार किलोमिटरभन्दा बढी सडक क्षतिग्रस्त भएको छ,” यातायात मन्त्री मोहम्मद इस्लामीले संसदमा बताएका छन् । इर्ना समाचार संस्थाका अनुसार मन्त्री इस्लामीले बाढीका कारण सातसय २५ वटा पुल पूर्णरुपमा क्षतिग्रस्त भएको जानकारी दिए ।

इरानी मौसम विज्ञान विभागका प्रमुख साहार ताजबख्सले दशकौंदेखिको सुक्खाका कारण मात्र बाढीले नोक्सान नगरेको स्पष्ट गर्दै जलवायू परिवर्तन र विश्वव्यापी तापमान वृद्धिले पनि समस्या निम्त्याएको बताए ।

इस्लामिक मुलुक इरानले छिमेकी मुलुकहरुबाट राहत र सहयोग लिएको थियो । फ्रान्सले गत शनिबार २१० वटा टेन्ट र ११४ वटा पम्प उपलब्ध गराएको छ ।