पु.समाचार

सेतो मच्छेन्द्रनाथको दर्शन गर्नेको घुइँचो

काठमाण्डौ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथलाई असनमा पु¥याएपछि पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । चैत्र शुक्ल नवमीका दिन दरबारमार्गस्थित तीनधारा पाठशालाबाट रथयात्रा शुरु गरिन्छ । पहिलो दिन रथलाई असनमा पु¥याइएको थियो । शनिबार राति नै राष्ट्रपति विद्यादेवी भण्डारीले सेतो मच्छेन्द्रनाथको दर्शन गरेको रथयात्रा व्यवस्थापन समितिका अध्यक्ष एवं काठमाडौँ महानगरपालिका–२५ का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए।

आइतबार बेलुकी ५ बजेसम्म असन क्षेत्रका स्थानीयवासीलाई पूजा एवं दर्शन गर्नका लागि रथ त्यहीँ राखिन्छ । आज ५ बजेपछि रथयात्रा शुरु गरी हनुमानढोका पु¥याइनेछ । १७ औँ शताब्दीमा शुरु भएको रथयात्रा यहाँको सभ्यताको पहिचानका रुपमा स्थापित छ ।

रथ यात्राले धार्मिक सहिष्णुता र राष्ट्रिय एकतामा सहयोग पुग्ने समितिले जनाएको छ । वैशाख २ गते हनुमानढोकाबाट लगनटोलमा रथ लगिनेछ । वैशाख ३ गते लगनटोलमा रहेको सेतो मच्छेन्द्रनाथकी आमा (माँ सीमा) लाई तीन पटक घुमाइन्छ । वैशाख ४ गते मच्छेन्द्रबहालस्थित मन्दिरमा प्रवेश गराएपछि यो जात्रा समाप्त हुन्छ ।

सेतो मच्छेन्द्रनाथको रथ तानेर रात्रि विश्राम गर्ने स्थलमा भक्तजनको भीड लाग्ने गर्छ । रथयात्रा गरेपछि वर्षा हुने र अनिकाल हटी सहकाल प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ ।