पर्यटन/संस्कृति

पूर्वी तराईमा आजदेखि सिरुवा पर्व शुरु

दमक । नयाँ वर्षको शुरुआत भएसँगै पूर्वी तराईका आदिवासी कोच समुदायको सिरुवा पर्व शुरु भएको छ । नयाँ वर्षको आगमनलाई स्वागत गर्दै राजवंशी, ताजपुरिया गनगाई, मेचे माझी लगायत कोच जातिका समुदायले आजदेखि तीन दिनसम्म सिरुवा पर्व मनाउन शुरु गरेका छन् ।

कोच समुदायमा यो पर्वले निकै महत्व बोकेको छ । वर्षभरिको रिसरागलाई पानीले पखालेर आपसमा पानी हालेर पहिलो दिन पानी सिरुवा, दोस्रो दिन आफ्नो कुल देवीदेवताको पूजा गर्ने गरिन्छ । वर्षको एक दिन माटोसँग खेलेमा शरीरका रोगहरु नाश हुने मान्यता रहेकाले आपसमा हिलो लगाएर काद सिरुवा खेल्ने र सिरुवाको अन्तिम दिन नयाँ वर्षलाई हर्सोल्लासका साथ रङ्गले खेलेर समापन गरिने प्रचलन रहेको कमल गाउँपालिका–६ का आदिवासी समुदायका अग्रज नित्यानन्द ताजपुरियाले बताए ।

परापूर्वकालदेखि आदिवासी समुदायले मनाउँदै आएको सिरुवा पर्व विगतका केही वर्षहरुमा सामूहिक रूपमा मनाउँदै आएको नेपाल आदिवासी जनजाति महासङ्घका केन्द्रीय महासचिव समेत भएका ताजपुरिया बताउँछन् । यो पर्वमा विभिन्न परिकार खाने र संस्कृति झल्कने नाचगान गर्ने चलन छ । झापा, मोरङ र सुनसरी जिल्लामा मात्र बस्दै आएका राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायतका जातिले सिरुवा मनाउने गर्छन् । पर्वको अवसरमा यी जिल्लामा विशेष सांस्कृतिक कार्यक्रमसहित सिरुवा मेला पनि लाग्ने गर्दछ ।

पूर्वका तीन जिल्लामा करीब तीन लाख ५० हजार कोच समुदाय रहेको अनुमान गरिएको छ । सिरुवाका अवसर पारेर जिल्लाको आदिवासी कोच बाहुल क्षेत्रका गौरादह, गौरीगञ्ज, कचनकवल लगायतका स्थानीय सरकारहरुले वैशाख ३ गते सार्वजनिक बिदासमेत दिएका छन् ।