समाचार

चलचित्र विकास बोर्ड “नेपाल चलिचित्र महासङ्घ”का रुपमा विकसित हुन्छ: मन्त्री बाँस्कोटा

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले चलचित्र विकास बोर्डलाई नेपाल चलिचित्र महासङ्घका रुपमा विकसित गरिने बताएका छन् ।

तामाङ चलचित्र सङ्घद्वारा काभे्रपलाञ्चोकको नमोबुद्ध नगरपालिका–७ भकुण्डेबेंसीमा जारी तामाङ चलचित्र महोत्सवलाई शनिबार सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भने, “चलचित्र विकास बोर्ड अवैज्ञानिक रुपमा छ, त्यसलाई सुधारसँगै बोर्डबाट नेपाल चलचित्र महासङ्घका रुपमा विकसित गरिन्छ ।” उनले विभिन्न चलचित्र सङ्घलाई एउटै संस्थामा आबद्धता गराउन छाता सङ्गठनका रुपमा महासङ्घ बनाउन लागिएको बताए ।

मन्त्री बाँस्कोटाले चलचित्र महासङ्घ बनाउन त्यससम्बन्धी कानूनी मस्यौदा तयार भइरहको बताए । “नयाँ आर्थिक वर्षको प्रारम्भसँगै चलचित्र महासङ्घको नयाँ कानून आउनेछ, यसका लागि चलचित्रका विज्ञसँग छलफल गर्ने योजना बनाएका छौँ”, उनले भने, “विविध भाषाभाषी रहेको मुलुकमा आफ्नै भाषा, मौलिकता र संस्कृति झल्कने चलचित्र बनाउनु उत्साहप्रद छ ।”

त्यस्ता चलचित्र बनाउन तत्सम्बन्धी संस्कृतिविद् आवश्यक पर्ने भन्दै उनले कानून बनाउने प्रक्रियामै रहेकाले विभिन्न संस्कृतिका विज्ञको सल्लाह लिने काम भइरहेको बताए । उनले पाँच प्रतिशत तामाङ समुदायको बसोबास रहेको उल्लेख गर्दै मुलुकका विविध समुदायले नेपालका हलमा वर्षको १८० दिन चलचित्र प्रदर्शन गर्नुपर्ने बताए ।

सांसद गङ्गाबहादुर दोङ, नमोबुद्ध नगरपालिकाका प्रमुख टङ्कप्रसाद तिमल्सिना, सङ्घका पूर्वअध्यक्षद्वय जेनिश दोङ र अशोक ब्लोनले महोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए । तीनदिने महोत्सवमा पाँच तामाङ भाषाका चलचित्र प्रदर्शन गरिने सङ्घका अध्यक्ष विकु थोकरले जानकारी दिए ।