समाचार

चुनावका बेला गरिएका प्रतिबद्धतासंगै नागरिकका सबै चाहना सरकारले पुरा गर्छ– रक्षामन्त्री पोखरेल

ओखलढुङ्गा । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नागरिकको विकासको भोक सरकारले मेटाउने बताएका छन् । प्रथम ओखलढुङ्गा महोत्सवको आज उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले निर्वाचनका बेला जनताका बीचमा गरिएका, घोषणापत्रमा उल्लेख गरिएका र सरकार बनिसकेपछि व्यक्त गरिएका प्रतिबद्धता पूरा गर्न सङ्घीय सरकार लागिपरेको बताएका छन् ।

देशमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को सरकार गठन मात्रै नभएर प्रणाली नै फेरिएको उनले बताए । “मुलुकमा नेकपाको बहुमत प्राप्त सरकार मात्रै बनेको होइन, विगतको प्रणाली नै परिवर्तन भएको छ । सरकार चुनावका बेला गरिएका प्रतिबद्धता मात्रै होइन नागरिकका सबैजसो चाहना पूरा गरेरै छाड्छ । यो हाम्रो सङ्कल्प हो । अठोट हो”, उनले भने । उनले मुलुकको समृद्धिका लागि जनप्रतिनिधि जिम्मेवार बन्नुपर्ने बताए । आफ्नो प्रतिबद्धताबाट सरकार पछि नहट्ने दाबी गर्दै उपप्रधानमन्त्री पोखरेलले तीनवटै तहका जनप्रतिनिधि विकासप्रति चिन्तित हुनुपर्ने बताए ।

“विकास सम्भव छ, त्यसका लागि बजेट र योजना तर्जुमामा सङ्घीय सरकारले कुनै कमी हुन दिँदैन”, उनले भने, “संविधानप्रदत्त अधिकार प्रयोग गर्दै स्थानीय, प्रदेश र सङ्घमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधि साथी गोठालो बन्नुस् ।” उनले सरकार अहिलेसम्म ऐन कानून निर्माणमा केन्द्रित भएकाले अब पूर्वाधार विकासमा जुट्ने बताए । ओखलढुङ्गा महोत्सव आगामी वैशाख १० गतेसम्म सञ्चालन हुनेछ ।