समाचार

राष्ट्र कल्याणको कामना गर्दै शान्ति पूजा शुरु

काठमाडौँ । सम्पूर्ण प्राणी जगतको कल्याणको कामना गर्दै स्वयम्भू भगवान पाउमा काग्युर पाठ वाचन तथा २६ औँ विश्व शान्ति पूजा’ आजदेखि शुरु भएको छ ।

नेपाल अहिंसावादी बौद्ध धर्म विश्वशान्ति चक्र सङ्घले आयोजना गरेको उक्त पूजा आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुनेछ । बौद्ध अनुयायीलाई धार्मिक अभ्यासका लागि निर्माण गरिएका नीति नियम तथा बौद्ध साहित्यमा भएका विभिन्न उपदेशका साथै श्लोकलाई बुद्धवचनका रुपमा एकसातासम्म पाठ गरिने छ ।

उक्त संस्थाले विगत २६ वर्षदेखि सोही स्थानमा यस किसिमको पूजा सञ्चालन गर्दै आएको कार्यक्रमका संयोजक सोमबहादुर तामाङले जानकारी दिए । महायानी परम्परामा यी बुद्धवचनलाई भोट भाषामा लिपिबद्ध गरिएको हुन्छ जसलाई काग्युर भनिन्छ । खेन्पो पेमा सम्बा लामाको नेतृत्वमा गुरु तथा आनीले १०८ ठेली काग्युर तथा पवित्र बुद्ध वचन पाठ गर्ने कार्यक्रम छ ।

बुद्ध दर्शनमा रहेका जीवन जिउने कला, सुख, शान्तिका लागि सफलताको शिक्षालगायत उपदेशलाई व्यवस्थित गरिएको छ । बौद्ध साहित्यका ग्रन्थहरुमध्ये सुत्र, विनय र अभिधर्म महत्वपूर्ण कृति हुन् । बौद्ध ग्रन्थमा यिनलाई त्रिपिटक भनिन्छ । इशापूर्व छैटौँ शताब्दीमा लुम्बिनीमा जन्मेका बुद्धले ३५ वर्षको उमेरमा बुद्धत्व प्राप्त गरेपछि विकास भएको बौद्ध शिक्षा तथा उपदेशले विश्वमा शान्ति र अहिंसाको सन्देश फैलाएको थियो । संस्कृत, पाली, अङ्ग्रेजी, हिन्दी, मराठी, जापानी, थाई, सिंहाली, भियतनामीलगायत विश्वका धेरै भाषामा बुद्धवचनका कृति अनुवाद भएको छ ।

तत्कालीन समयमा कपिलवस्तु गणराज्यका राजा शुद्धोदनका सुपुत्रका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले गहनतम् खोजपश्चात् ज्ञान हासिल गरेपछि प्रतिपादन गरेको दर्शनले अहिले विश्व परिवेशमा धेरैलाई आकर्षित गरेको र सकारात्मक प्रभाव पारेको छ । बुद्धको जीवन अन्त्य भएपछि करीब ८४ हजार उपदेशलाई संग्रह गरिएको बौद्ध साहित्यमा पाइन्छ । बौद्ध दर्शनका विद्यार्थी, अनुयायीसमेत उक्त कार्यक्रममा सहभागी भएका छन् । बुद्ध र बौद्ध दर्शनको उद्गमस्थल नेपाल भएकाले पनि बौद्ध दर्शनका सन्देश अन्र्तराष्ट्रिय तहमा प्रचार गरी विश्वशान्ति कायम गर्न सकिने पूर्वराज्यमन्त्री परशुराम तामाङले विचार व्यक्त गरे ।

बोधिसत्व प्राप्त गर्नका लागि आवश्यक पर्ने प्रज्ञापारमिताको समेत वाचन गरी सर्वसाधारण मानिसलाई सकारात्मक मार्गतर्फ लैजान पूजाले प्रेरित गर्ने आयोजकले जनाएको छ । यसअवधिमा पर्ने तेमाल जात्रामा त्यस क्षेत्रमा तीर्थ गर्न आउने भक्तजनलाई नैतिक शिक्षा प्रदान गर्न पनि यो कार्यक्रमको महत्व रहेको जनाइएको छ ।