अन्तर्राष्ट्रिय

मध्यअमेरिकी बालबालिकालाई पुनर्मिलनका लागि बाटो खुल्यो

वासिङ्टन । ट्रम्प प्रशासनले मध्यअमेरिकी देशहरुमा अलपत्र परेका करिब दुई हजार ७०० बालबालिकालाई उनीहरुका संयुक्तराज्य अमेरिकामा रहेबसेका बाबुआमासँग पुनर्मिलन गर्न अनुमति दिन सहमति जनाएको छ । अमेरिकी अदालतमा ट्रम्प प्रशासनले बुझाएको कागजातमा बालबालिकाको पुनर्मिलन गर्ने उल्लेख गरिएको अदालत प्रशासनले स्पष्ट गरेको छ । संयुक्तराज्य अमेरिकामा कानुनी रुपमा रहेबसेका बाबुआमाका मध्यअमेरिकामा रहेका बालबालिकालाई अमेरिका प्रवेशमा रोक लगाउने सम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१७ मा गरेको आदेश विरुद्धमा अदालतमा मुद्दा विचाराधीन थियो ।

सन् २०१४ मा आरम्भ भएको मध्यअमेरिकी बाल कार्यक्रम मार्फत अमेरिकामा कानुनी रुपमा बसिरहेका बाबुआमाले आफ्ना बालबच्चालाई शरणार्थीको रुपमा अमेरिका ल्याउन पाउने व्यवस्था गरिएको थियो । यो व्यवस्था खासगरी मध्यअमेरिकी देशहरु ग्वाटेमाला, एलसाल्भाडोर र होन्डुरसमा लागू थियो ।यी बालबालिकाका अधिकांश बाबुआमा अमेरिकामा अस्थायी संरक्षित व्यवस्था अनुरुप बसिरहेका छन् । यो व्यवस्था बमोजिम प्राकृतिक प्रकोप, नागरिक द्वन्द्व वा अरु समस्याबाट ज्यान जोखिममा रहेको अवस्थामा संयुक्तराज्य अमेरिकाले अस्थायी आश्रय दिन्छ ।

गत महिना, सानफ्रान्सिस्कोस्थित अमेरिकी मजिस्ट्रेट न्यायाधीश लरेल बीलरले सन् २०१७ को प्रावधान बमोजिम बालबालिकाको पुनर्मिलन कार्यक्रम पुनः आरम्भ गर्न ट्रम्प प्रशासनलाई आदेश दिएका थिए। पुनर्मिलन प्रक्रियाको अन्तिम चरणमा रहेपनि ट्रम्प प्रशासनको आदेशबाट रोकिएको सम्पूर्ण प्रक्रिया पुनः आरम्भ हुनेछ । यसबाट करिब दुई हजार ७०० बालबालिकाले राहत पाउनेछन् ।

ट्रम्प प्रशासनको आदेश विरुद्ध मुद्दा दायर गरेको अन्तर्राष्ट्रिय शरणार्थी सहयोग परियोजना ‘आइआरएपी’ ले एक वक्तव्य प्रशासन गरी सरकारले सबै बालबालिकाको आवेदनलाई स्वीकृत गर्ने र संयुक्तराज्य अमेरिका भ्रमण गर्न अनुमति दिने विश्वास व्यक्त गरेको छ । “अदालतको आदेशबाट हामी ज्यादै प्रसन्न छौं किनभने यस आदेशपछि वर्षौंदेखि अलगअलग रहेबसेको परिवारको पुनर्मिलन हुनेछ,” आइआरएपीका वकील लिन्डा इभार्ट्सले बताए
अदालतको आदेशका बारेमा अमेरिकी नागरिकता तथा आप्रवासन सेवाले कुनै प्रतिक्रिया दिएको छैन ।