खेलकुद

पोखरामा भएको पर्यटक दौडमा अमेरिकाका ब्रायन प्रथम

कास्की । पोखरामा जारी १६ औँ  फेवा नव वर्ष महोत्सवअन्तर्गत आज भएको पर्यटक दौड प्रतियोगितामा अमेरिकाका ब्रायन किनले प्रथम स्थान हासिल गरेको छ ।

अन्तर्राष्ट्रिस्तरमा पोखराको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको सो दौड प्रतियोगितामा बेलायतका एलेक्स हक्कन द्वितीय तथा क्यानडाका माइकर बेकर तृतीय भएका छन् । महिलातर्फ बेलायतकी हाना कारस प्रथम, फ्रान्सकी भिओलेट लेफर दोस्रो र अमेरिकाकी सारा कोइनीले तृतीय हुन सफल भएकी छन्

प्रतियोगितामा विभिन्न देशका ६६ पर्यटकले सहभागिता जनाएको प्रतियोगिताका संयोजक अनिल सिंहले जानकारी दिए । हल्लनचोकस्थित पिस प्लाजा होटलदेखि रत्न मन्दिरको दक्षिणी गेटसम्म सहभागीहरु दौडिएका थिए । प्रतियोगितामा प्रथम हुनेले बुद्ध वा यती एयरको पोखरा–काठमाडौँ उडान टिकट, विजी वी क्याफेमा ककटेल डिनर र सिइङ हेण्ड्समा मसाजको सुविधा पाएका छन् ।

त्यसैगरी द्वितीय हुनेलाई अन्नपूर्ण वा पोखरा प्याराग्लाइडिङ कम्पनीबाट ३० मिनटको टेण्डम उडान सुविधा, विजी वी क्याफेमा ककटेल डिनरको सुविधा र सिइङ हेण्ड्समा मसाजको सुविधा प्रदान गरिएको छ । त्यस्तै तृतीयका लागि भने पोखरा–काठमाडौँ रुटमा ग्रिनलाइन टुर्सको टिकट, ककटेल डिनर र मसाजको सुविधा व्यवस्था गरिएको आयोजक पश्चिमाञ्चल होटल सङ्घले जनाएको छ ।