समाचार

सभापति शेरबहादुर देउवाको आलोचना गरेर पार्टी अगाडी बढ्न सक्दैन- नेता केसी

काठमाडौँ । पार्टीको महाअधिवेशन एवम् महासमिति पार्टीको सर्वोच्च निकाय हो, यसको निर्णय नै सर्वोपरी हुन्छ । तर नेपाली काँग्रेसमा महासमिति वैठकले गरेको निर्णयलाई केन्द्रीय कार्यसमितिले उल्ट्याउने, वेवास्ता गर्ने कार्य गर्दछ भने यो भन्दा घोर अप्रजातान्त्रिक निर्णय के हुन सक्छ । उपरोक्त कुरा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री अर्जुननरसिंह केसीले प्रजातान्त्रिक विचार केन्द्र, रौतहटले २९ औं जनआन्दोलन दिवसको उपलक्ष्यमा स्थानीय चन्द्रपुर नगरपालिकामा “वर्तमान राजनीतिक सन्दर्भमा लोकतान्त्रिक आन्दोलनका चुनौतिहरू” विषयक हिजो चन्द्रपुर, रौतहटमा आयोजित विचार गोष्ठिमा प्रमुख अतिथिको आसनबाट सम्वोधन गर्दै बताएका हुन् ।

 केसीले गोष्ठीलाई सम्वोधन गर्दै अगाडी भने नेपाली काँग्रेसका कार्यकर्ताहरूले पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गरेर पार्टी अगाडी बढ्न सक्दैन, काँग्रेसलाई वलियो वनाउन आम कार्यकर्ताले व्यक्तिगत एवम् गुटगत स्वार्थबाट माथि उठेर काम गर्नुपर्छ।’

उनले वाइडवडी प्रकरण, विना टेण्डर बुढिगण्डकी आयोजना सुम्पने काम, फोर जी काण्ड लगायत भ्रष्टाचारको काण्डले सरकार चौतर्फी भ्रष्टाचारमा लिप्त रहेको प्रमाणित हुन्छ । सरकार भ्रष्टाचारमा चुर्लुम्म डुवेको देख्दा पनि प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको आवाज किन कमजोर भैरहेको छ । दुई तिहाई बहुमतको शक्तिशाली सरकार चौतर्फी असफल भैरहेको छ, नेपाली काँग्रेस कही वोल्दैन किन भन्ने प्रश्न गर्दै काँग्रेसले सरकारको प्रजातन्त्र र जन विरोधी कामका विरूद्ध आक्रमक भएर प्रस्तुत हुन जरूरी रहेको कुरामा जोड दिनु भए ।

विचार गोष्ठी सम्वोधन गर्दै नेपाली काँग्रेस जिल्ला कार्यसमिति, रौतहटका सभापति एवम् पूर्व साँसद कृष्ण यादवले रौतहट जिल्लामा पार्टीका सबै साथीहरूलाई समेटेर लैजाने प्रयास भैरहेको छ, संगठन वलियो भए मात्र सबैले अवसर पाउने हो, मलाई असहयोग गर्दा पार्टीलाई नै नोक्सान हुन्छ, यसो नगर्न सबैलाई आह्वान गरे ।

नेपाली काँग्रेसका नेता एवम् रौतहटबाट संघीय संसदका साँसद देवीप्रसाद तिमल्सिनाले निर्वाचनका वेला कार्यकर्ता राम्रोसंग परिचालन हुन नसके कै परिणाम पार्टीको पराजय भएको, पराजय कै कारण संसदमा काँग्रेसको उपस्थित कमजोर छ, जसले गर्दा संसदमा काँग्रेसले सशक्त भूमिका खेल्न नसकिरहेको स्वीकार गर्दै पार्टीमा आमूल सुधार र परिवर्तनको खाँचो रहेको कुरामा जोड दिए ।

नेपाली काँग्रेसका नेता एवम् राजनीतिक विश्लेषक लोकेश ढकालले विचार गोष्ठीमा विशेष अतिथिको रूपमा संवोधन गर्दै  नेपाली काँग्रेसमा नीति र नेतृत्व दुवै खराव भएकोले नै काँग्रेस इतिहास मै सबै भन्दा कमजोर र चुनोतिको घडिमा आइपुगेको छ । अब काँग्रेसमा नीति र नेतृत्व दुवैको परिवर्तनको खाँचो छ । नेतृत्व परिवर्तनको लागि महाधिवेशनको प्रतिक्षा गर्नु पर्दछ तर नीति र विचार परिवर्तनको लागि अहिले देखि नै पार्टीमा वैचारिक बहशको खाँचोमा जोड दिए ।

ढकालले काँग्रेसले विषेश गरेर १२ बुँदे समझदारी, शान्ति सम्झौंता, संविधान निर्माणको कार्य भैरहँदा पार्टी स्थापनाकालिन सिद्धान्त र वीपीका विचारलाई पर्वाह नगरेको कारणले नै नेपाली काँग्रेस कमजोर भएको छ, पार्टीले संघीयता, धर्मनिरपेक्षता लगायतका मुद्धामा पुनर्विचार गर्नु पर्ने कुरामा विशेष जोड जोड दिए ।

प्रजातान्त्रिक विचार केन्द्र, रौतहटका सभापति रविनचन्द्र कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधानसभा पूर्व सदस्य जीतेन्द्र यादव, २ न। प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका उपनेता माननीय सेख रसिद अलि “लाल बावु”, प्रदेशसभा सदस्य माननीय धनलाल ठोकर, नेपाली काँग्रेस, जिल्ला कार्यसमितिका सचिव हृदयनारायण यादव, परौहा नगरपालिकाका मेयर एवम् प्रदेश नं। २ मेयरसंघका संयोजक शेख वकिल, नेपाली काँग्रेसका क्षेत्रीय सचिव एवम् वृन्दावन नगरपालिकाका मेयर रामस्नेही यादव, चन्द्रपुर नगरपालिकाका मेयर रामचन्द्र चौधरी, नेपाल ट्रेड युनियन काँग्रेसको पूर्व जिल्ला सभापति विन्दा सहनी, नेपाल तरूण दलका जिल्ला सभापति नौसाद आलम, स्थानीय नेता प्रेमशंकर यादवले ०४६ सालको जनआन्दोलनको महत्व माथि प्रकाश पारेका थिए ।