बाग्मती

बालिकाको जीवन रक्षाका लागि सहयोगको अपिल

काठमाडौँ । आर्थिक अभावमा रक्त क्यान्सरबाट पीडित बालिका उर्वसी केसीको स्वास्थ्योपचार गर्न नपाएको भन्दै उनको जीवन बचाइदिन परिवारले सरकारसँग अपिल गरेको छ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दोलखा चरिकोट गाउँपालिका–५ निवासी पाँच वर्षीया उर्वसीको उपचारमा हालसम्म रु तीन लाख खर्च भइसकेको र आफूसँग बाँकी खर्च गर्नसक्ने क्षमता नभएकाले राज्य र सहयोगी दातासँग उपचार खर्च जुटाइदिन बालिकाकी आमा उर्मिला केसीले आग्रह गरेकी छन् ।

कान्ति बाल अस्पतालमा उपचार गराइरहेकी केसीको उपचारमा रु २२ लाखसम्म खर्च लाग्ने चिकित्सकले बताएको आमा उर्मिलाले भावबिह्वल हुँदै भनीन् । रोगको पत्ता लगाउने तथा बोनम्यारो तथा रक्त परीक्षणको लागि भारतमा नमूना सङ्कलन गर्न पठाउनुपर्ने भएका कारण आफूसँग त्यत्रो खर्च धान्न सक्ने अवस्थामा नरहेको उनले बताइन ।

बालिकाको फोक्सो, पेट तथा गाला सुन्निँदै आएको र तुरुन्त खर्चको जोहो गर्न सकेमा मात्रै उनलाई बचाउन सकिने चिकित्सकले बताएको आमा केसीले जानकारी दिइन् । बालिकालाई दुई पटक किमो दिइसकेकोे छ ।

बुबा ध्रुव केसी नयाँ बजारस्थित एक अफिसमा सेक्युरिटी गार्डको काम गर्दै आएका छन् । उनले आफ्नी छोरीको उपचारमा सहयोगको लागि दातासँग अनुरोध गरेका छन् । अहिलेसम्म केही व्यक्ति तथा संस्थाले सहयोग गर्ने बचनबद्धता व्यक्त गरे पनि हालसम्म रु ६० हजार मात्र सङ्कलन हुन सकेको परिवारको भनाइ छ ।
–––