प्रदेश 1

दिक्तेलमा करदातासेवा कार्यालय स्थापना

खोटाङ । सदरमुकाम दिक्तेलमा करदातासेवा कार्यालय स्थापना भएको छ । भ्याट, पानलगायतका कर सम्बन्धी कामका लागि सिराहाको लाहान पुग्नुपर्ने बाध्यता अन्त्य गर्न दिक्तेलमा करदाता सेवा कार्यालय स्थापना गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय नजिकै स्थापना गरिएको करदातासेवा कार्यालयबाट सेवा प्रवाह परीक्षण सफल भएको कर दाता सेवा कार्यालयका प्रमुख गोपाल राईले बताए । कार्यालय सेवा प्रवाहका लागि तयार भए पनि औपचारिक उद्घाटन गर्न भने बाँकी नै रहेको छ । स्थायी लेखा नम्बर दर्ता, कर चुक्ता प्रमाणपत्र वितरण, मूल्य अभिवृद्धि कर दर्ता, अन्तःशुल्क इजाजत तथा नवीकरण, कर सङ्कलन, करदाताको विवरण संशोधन लगायतका सेवा प्रवाह गर्न कार्यालय स्थापना गरिएको प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले जानकारी दिए ।

कार्यालयबाट करदाताले राष्ट्रिय वाणिज्य बैंकमा कर दाखिला गरेपछि भौचर बुझ्ने काम मात्र गरिने छ । करदातालाई काउन्सिलिङ र प्रचारप्रसारका लागि माइकिङका काम शुरु गरिने जनाइएको छ । आन्तरिक राजश्व कार्यालय लहानको सम्पर्क कार्यालयकारुपमा केही समयपछि उद्घाटन गरिने प्रमुख राईले बताए ।

मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको झण्डै वर्ष दिनपछि करदाता सेवा कार्यालय स्थापना गरिएको जनाइएको छ । हाल लाहानमा रहेका खोटाङका करदाताको सम्पूर्ण विवरण आगामी वैशाख २ गते दिक्तेल ल्याइने छ । करदाता सेवा कार्यालय स्थापना भएपछि कर चुक्ताका लागि प्रदेश नं– १ बाट प्रदेश नं– २ मा पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ । इन्टरनेटको आवश्यक स्पीड नहुँदा कतिपय काम ढिलोे भएको कार्यालयले जनाएको छ ।