खेलकुद

बास्केटबल खेलको तेस्रो दिन, महिलातर्फको खेल सम्पन्न

  घोराही । आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत बास्केटबल प्रतियोगिताको तेस्रो दिन आज बिहान महिलातर्फको चारवटा खेल सम्पन्न भएका छन् ।

दाङको घोराही उपमहानगरपालिका–१८ सालघारीमा चलिरहेको उक्त खेलको तेस्रो दिन भएको चार खेलमा प्रदेश नं ३, सुदूरपश्चिम प्रदेश, सशस्त्र प्रहरीको एपिएफ र नेपाल प्रहरीको विभागीय टिमले खेलमा जित हात पारेका छन् । आज भएको तेस्रो खेलमा प्रदेश नम्बर ३ ले प्रदेश नम्बर ५ लाई १७ का विरुद्ध ४८ अङ्क ल्याएर विजयी भएको हो ।

यस्तै सशस्त्रको एपिएफ टिमले गण्डकी प्रदेशलाई ३५ का विरुद्ध ५० अङ्कले जितेको छ । आज बिहान भएको अर्को खेलमा नेपाली सेनाको टिमलाई नेपाल प्रहरीको टिमले ३२ का विरुद्ध ४७ अङ्क बटुलेर जित प्राप्त गरेको छ ।

महिलातर्फ प्रदेश नं २ र ६ खेलमा सहभागिता जनाएका छैनन् भने पुरुषतर्फको खेल दिउँसो ३ बजेदेखि शुरु हुने आयोजकले जनाएको छ । गत २८ गतेबाट शुरु भएको बास्केटबल प्रतियोगिता वैशाख ४ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा ७ प्रदेशसँगै तीन विभागीय नेपाल आर्मी, नेपाल पुलिस र सशस्त्रको एपिएफ गरी दश समूहको सहभागिता रहेको छ ।