समाचार

प्रहरी महानिरिक्षक खनालद्वारा मौलो पूजा

काठमाडौँ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको चैतेदशैँका अवसरमा आज प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना गरेका छन् ।

पूजा विसर्जनपछि मूलकोत हनुमान ढोकाका लागि निशान प्रस्थान गराइएको थियो भने नववर्ष २०७६ को उपलक्ष्यमा शुभकामना आदानप्रदान समेत गरिएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अङ्कित भएको हुन्छ भने सहायक निशानमा सूर्यचन्द्र चिन्ह अङ्कित हुन्छ ।

नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमनचयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिइन्छ । विसं २०११ देखि हरेकवर्ष वडादशैँ र चैतेदशैँमा निरन्तररुपमा मौलो पूजा गरिँदै आएको छ ।

प्रहरी महानिरीक्षक खनालले मौलो पूजाका अवसरमा विशेषकार्य गर्ने प्रहरी सहायक निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हबल्दार जीतेन्द्र थारुलाई नगद पुरस्कार समेत प्रदान गरे ।

यसैबीच प्रहरी महानिरीक्षक खनालले नेपाल सरकार, गृह मन्त्रालयको मन्त्रिस्तरीय निर्णयले प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका टेकप्रसाद राईलाई आज दज्रयानी चिन्ह प्रदान गरेका छन् । प्रहरी वरिष्ठ उपरीक्षक राई संयुक्त राष्ट्र सङ्घीय मिसनमा रहेकाले यसअघि दज्रयानी चिन्ह प्रदान गर्न सकिएको थिएन ।