बाग्मती

विपी राजमार्गसँगै जिल्लाभर सवारी आवागमन बन्द

सिन्धुली । विपी राजमार्गसँगै जिल्लाभर आज बिहानैदेखि सवारी आवागमन ठप्प भएको छ । प्रहरीले दोषीलाई कारवाही नगरी छाडेको भन्दै नेपाली काङ्ग्रेस सिन्धुलीले सवारी आवागमन बन्द गराएको हो ।

तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरमाथि हातपात गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएर कारवाही गर्ने प्रतिबद्धता जनाएकामा गए राति नै छाडेकाले दोषीलाई कारवाहीको माग गर्दै सवारी आवागमन अवरुद्ध पारिएको नेपाली काङ्ग्रेस सिन्धुलीका सचिव दीपककुमार घिमिरेले जानकारी दिए ।

दोषीलाई कारवाहीको माग गर्दै काङ्ग्रेसका कार्यकर्ताहरुले प्रर्दशनमा उत्रिएपछि विपी राजमार्गअन्तर्गत भिमान, शान्तिनगरचोक, खुर्कोट, नेपालथोक र जिल्लाका भित्री सडक हरिहरपुरगढी गाउँपालिकाको झनझने, दुधौली, भिमस्थान, मध्यपहाडी लोकमार्गको ग्वालटारलगायतका दर्जनौँ स्थानमा सवारी आवागमन अवरुद्ध भएको छ ।  आज दिउँसो यस विषयमा जिल्ला कार्यसमितिको बैठक बस्ने र थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने सचिव घिमिरेको भनाइ छ ।

अहिले नेपाली काङ्ग्रेससम्बद्ध नेता तथा कार्यकर्ताले शान्तिनगरचोकमा टायर बालेर सवारी आवागमन ठप्प पारेका छन् । यसबारे सिन्धुलीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले सवारी सञ्चालन गर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका स्थानीय नेता मधु भनिने सिद्धिबहादुर कटुवालमाथि गाउँपालिकाका अध्यक्षलाई कार्यकक्षमै चैत २८ गते दिउँसो २ बजे दुव्र्यवहारसहित हातपात गरेको आरोप लागेको छ ।

सडक निर्माण समिति तीनपाटन–१ बेलघारीमा अनियमतिता भएको गुनासो आएको र अनुगमनपश्चात समितिको पैसा निकासी हुने प्रक्रिया चलिरहँदा कटुवालले हातपात गरेको गाउँपालिका अध्यक्ष मगरको आरोप छ । कटुवाल उपभोक्ता समितिको सदस्यसमेत नरहेको र असम्बन्धित व्यक्तिले आफूमाथि आक्रमण गरेकाले कारवाही गर्न उनले हिजो सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरी आग्रह गरेका थिए ।