अन्तर्राष्ट्रिय

चेभरोनले अनाडार्को कम्पनी ३३ अर्ब डलरमा खरिद गर्ने

वासिङ्टन । संयुक्तराज्य अमेरिकामा तेल र ग्यासको उत्पादन वृद्धि गर्ने उद्देश्यले चेभरोन कर्पले अनाडार्को पेट्रोलियम कर्पोरेसन नगद ३३ अर्ब अमेरिकी डलरमा खरिद गर्ने शुक्रबार घोषणा गरेको छ ।

हाल अमेरिकामा ग्यास र तेलको उत्पादन बढेकाले विश्वमै अमेरिका सबैभन्दा ठूलो ऊर्जा उत्पादक मुलुक भएको छ । तेलको मूल्यवृद्धि पनि भएकाले चेभरोन र यसको प्रतिस्पर्धी एक्सोन मोबिल कर्पले पश्चिमी टेक्सासमा तेल उत्खननमा लगानी बढाइरहेका छन् । यो ठाउँ मुलुककै सर्बाधिक तेल र ग्यास उत्पादन हुने क्षेत्र हो ।

यो सम्झौता रोयल डच शेल कम्पनीले बीजी ग्रुपलाई सन् २०१६ मा खरिद गरेयताकै सबैभन्दा ठूलो हो । अमेरिकाको टेक्सासमै तेल र ग्यास उत्खनन गर्ने अपाचे कर्पको पनि व्यापारमा ७ प्रतिशत वृद्धि भएको छ । पायोनियर नेचुरल रिसोर्सेजको व्यापारमा पनि ६ प्रतिशत वृद्धि भएको छ । अमेरिकी कच्चा तेल उत्पादन अहिले प्रतिदिन १ करोड २० लाख ब्यारोल पुगेको छ र अमेरिका अहिले विश्वकै तेस्रो ठूलो प्राकृतिक ग्यास (एलएनजी) उत्पादक मुलुक बनेको छ ।

विद्युत उत्पादनका लागि कोइलामा अत्यन्त निर्भर रहेका मुलुकहरुका लागि यो निकै राम्रो विकल्प पनि हो किनभने एलएनजीको मूल्य सस्तो हुनुका साथै वातावरणीय रुपमा सफा मानिन्छ । चेभरोनसँग पार्मियन क्षेत्रमा २३ लाख एकड जमिन छ । अनाडार्को कम्पनी खरिद सम्झौतापछि चेभरोनसँग करिब १२० किलोमिटर क्षेत्रको स्वामित्व हुनेछ । अनाडार्कोसँग मोजाम्बिक एलएनजी परियोजना समेत छ । कम्पनीको यो सबैभन्दा ठूलो लगानी भएको स्थान पनि हो ।

सन् २०१८ को अन्त्यमा एक्सोन र चेभरोनले पार्मियन क्षेत्रबाट हुने कूल उत्पादनको करिब २० प्रतिशत थियो । दुई कम्पनीले प्रतिदिन ४० लाख ब्यारेल तेल उत्खनन गर्दछन् । आइएचएस मार्किटका अनुसार सन् २०२३ सम्ममा यो ५४ लाख ब्यारेल प्रतिदिन हुनेछ । साउदी अरेबिया बाहेकका कुनै अरु ओपेक मुलुकको कूल उत्पादनभन्दा यो बढी हुनेछ ।

चेभरोनको शेयर मूल्य भने वित्तीय विवरण सार्वजनिक नभएका कारण ४ प्रतिशतले गिरावट आएको छ । चेभरोनले अनाडार्कोको १५ अर्ब डलर ऋण पनि व्यहोर्ने बताइएको छ । अनाडार्कोको शेयर मूल्यमा पनि ३३ प्रतिशतले गिरावट आएको छ ।