खेलकुद

राष्ट्रिय कुस्ती प्रतियोगिताः पुरुषतर्फ प्रदेश २ तथा महिलामा सुदूरपश्चिम अब्बल

जीतपुर । आठौँ राष्ट्रिय खेलकूल प्रतियोगिताअन्तर्गत १४औँ राष्ट्रिय कुस्ती प्रतियोगिता शुक्रबार सम्पन्न भएको छ । पुरुष र महिला खेलाडीबीच १० तौल समूहमा खेल खेलाइएको थियो । पुरुषतर्फ प्रदेश नं २ तथा महिला स्पर्धामा सुदूरपश्चिम प्रदेश अब्बल रह्यो ।

प्रतियोगितामा पुरुषतर्फ प्रदेश नं २ ले ६ स्वर्ण तथा तीन रजत पदक जितेको छ । प्रदेश ५ ले तीन स्वर्ण र दुई कास्य, त्रिभुवन आर्मीले एक स्वर्ण र एक रजत, नेपाल प्रहरीले दुई रजत र पाँच कास्य, प्रदेश ३ ले दुई रजत र कर्णाली प्रदेशले एउटा कास्य पदक जितेको छ । प्रदेश २ ले ५७ किलो तौल समूह, ६१ किलो, ६५ किलो, ७९ किलो, ९२ किलो तथा १२५ किलो तौल समूहमा स्वर्ण पदक जितेको हो । प्रदेश ५ ले ७४ किलो, ८६ किलो, र ९७ किलो तौल समूहमा तथा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले ७० किलो तौल समूहमा स्वर्ण पदक जितेको हो ।

यस्तै महिला कुस्तीतर्फ ६ स्वर्ण, तीन रजत र एक कास्य पदकसहित सुदूरपश्चिम प्रदेश पहिलो भएको छ । नेपाली सेनाले तीन स्वर्ण र तीन रजत, प्रदेश १ ले एक स्वर्ण र ६ कास्य, प्रदेश ५ ले दुई रजत र तीन कास्य तथा नेपाल प्रहरीले दुई रजत जितेको छ । सुदूरपश्चिम प्रदेशकी निरा आउजीले ६५ किलोमा, ६८ किलोमा विमला सुनारले तथा ७२ किलोमा लक्ष्मी खत्रीले स्वर्ण जितिन् । यस्तै सेनाकी सुशिला चन्दले ६२ किलोमा स्वर्ण हात पारिन् भने ७६ किलोमा प्रदेश १ की श्रीजासु गिरीले स्वर्ण पदक जितिन् ।

सुदूरपश्चिम प्रदेशले बिहीबार सम्पन्न खेलमा ५० किलो, ५३ किलो र ५५ किलो तौल समूहमा स्वर्ण पदक जितेको थियो । प्रतियोगितामा पुरुषतर्फ रमेश गोतामे तथा महिलातर्फ श्रीजासु गिरी उत्कृष्ट खेलाडी घोषित भए । विजेता खेलाडीलाई नेपाल कुस्ती सङ्घका अध्यक्ष नारायणदेव राणा, प्रदेशसभा सदस्य विष्णु पन्थी, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष छवी रेग्मी लगायतले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।