समाचार

अध्यक्ष तिमिल्सिनासँग कोरियाली प्रतिनिधिमण्डलको भेट

काठमाडौँ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र दक्षिण कोरियाका राष्ट्रियसभा सांसद वन यो चुल नेतृत्वको संसदीय प्रतिनिधिमण्डलबीच आज शिष्टाचार भेट भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा भएको भेटमा अध्यक्ष तिमिल्सिनाले नेपाल र दक्षिण कोरियाबीचको सम्बन्ध मित्रता, समझदारी र द्विपक्षीय सहयोगका आधारमा अगाडि बढेको धारणा राखे ।

अध्यक्ष तिमिल्सिनाले बेलाबेलामा हुने उच्चस्तरीय भेटघाटले दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै लगेको र आगामी दिनमा थप मजबुत हुने विश्वास व्यक्त गरेका थिए । नेपाल र कोरियाबीच भगवान् गौतम बुद्धको दर्शनमा आधारित संस्कृति र धर्मको सन्दर्भमा धेरै समानता रहेको उनको भनाइ थियो । अध्यक्ष तिमिल्सिनाले दक्षिण कोरिया सरकारको विकास सहयोग प्रदान गर्ने प्राथमिकतामा साझेदार राष्ट्रको सूचीमा नेपाल पनि सूचीकृत गरिएकामा कोरिया सरकारलाई धन्यवाद ज्ञापन गरे ।

प्रतिनिधिमण्डका संयोजक राष्ट्रियसभाका सांसद चुलले नेपालले कोरियालाई र कोरियाले नेपाललाई विश्वमञ्चमा सहयोग गरिरहेकामा नेपाललाई धन्यवाद व्यक्त गरे । ‘नेपाल एशिया प्यासिफिक पार्लियामेन्ट्री कन्फ्रेन्स इन्भायरोमेन्ट डेपलभमेन्ट’मा सदस्य राष्ट्रका रुपमा रहेको हुनाले वातावरण र विकासमा एशियाको एउटै धारणा ल्याउनु जरुरी रहेको उनको भनाइ थियो । सांसद चुलले वातावरण संरक्षणका लागि नेपालसँग समन्वय गरी काम गर्ने बताए ।