प्रदेश 2

वैशाख १ देखि वाग्मती नदीमा व्यावसायिक रुपमा मोटरबोट सञ्चालन

हेटौँडा । सर्लाही र रौतहटलाई मकवानपुर र सिन्धुलीसँग जोड्ने गरी जलमार्ग निर्माण सम्पन्न भएपछि अब वाग्मती नदीमा व्यावसायिक रुपमा मोटरबोट सञ्चालन हुने भएको छ । जलमार्ग निर्माणसँगै नयाँ वर्ष २०७६ का अवसरमा विशेषतः मकवानपुर, सिन्धुली, सर्लाही र रौतहटवासीले मोटरबोटमा सयर गर्न पाउने भएका छन् ।

विसं २०७६ वैशाख १ गतेदेखि सञ्चालन हुने गरी रौतहटको वाग्मती क्यान्टिन बजारदेखि मकवानपुरको राई गाउँसम्म जलमार्ग व्यवस्थापन गरी मोटरबोट सञ्चालन गर्न लागिएको हो । सांसद एवं अर्थ समितिका सभापतिसमेत रहेका कृष्णप्रसाद दाहालको पहलमा जलमार्ग निर्माण गरिएको हो ।

आगामी वैशाख १ गतेदेखि ११ सिट क्षमताको मोटरबोट सञ्चालन हुने वाग्मती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए । उनका अनुसार तत्काल भाडामा ल्याइएको मोटरबोट सञ्चालन हुने र पछि सङ्घीय तथा प्रदेश सरकारसँग सहकार्य गरेर आफ्नै मोटरबोट सञ्चालन गर्ने योजना छ ।

मोटरबोट सञ्चालनपछि वाग्मती गाउँपालिका तथा मकवानपुरको पर्यटन विकाससँगै सो क्षेत्रको आर्थिक विकासमा टेवा पुग्ने विश्वास छ । नेपालमा समुन्द्रसँग जोड्ने जलमार्गलाई सङ्घीय सरकारले प्राथमिकता दिएको समयमा पर्यटन प्रवद्र्धक तथा स्थानीयवासीको दैनिकीलाई सहज बनाउनका लागि योजना ल्याइएको सांसद दाहालले बताए । जलमार्गले दुर्गम राईगाउँको जीवनशैलीमा परिवर्तन आउने उनको भनाइ छ ।

सांसद विकास कोषमा रहेको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत खर्च गरिने योजनामध्येबाट रु २० लाख खर्च गरी जलमार्गको निर्माण गरिएको हो । मकवानपुरको वाग्मती गाउँपालिकाअन्तर्गत राईगाउँदेखि रौतहटसम्म करीब सात किलोमिटर लामो पर्यटन जलमार्ग निर्माण गरिएको हो ।