गण्डकी प्रदेश

जनताको लामो सङ्घर्षपश्चात् प्राप्त उपलब्धिसँगै मुलुक समृद्धितर्फ उन्मुख– मुख्यमन्त्री गुरुङ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालीको परम्परागत सांस्कृतिक पर्व चैते दशैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, आपसी सद्भाव, एकता, भ्रातृत्व एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

नेपाली चाडपर्वमा चैते दशैँको महत्वपूर्ण स्थान रहेको उल्लेख गर्दै आज जारी गरिएको शुभकामना सन्देशमा मुख्यमन्त्री गुरुङले असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दू धर्मालम्वीले चैत शुक्ल अष्टमीमा मनाउने दशैँलाई चैते दशैँ भनिन्छ । नेपाली जनताको लामो सङ्घर्षपश्चात् प्राप्त उपलब्धिसँगै मुलुक समृद्धितर्फ उन्मुख भएको उल्लेख गर्दै मुख्यमन्त्री गुरुङले सन्देशमा विविधता युक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव र धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुद हुने विश्वास व्यक्त गरेका छन् ।

विविध धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीकाबीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने अपेक्षा व्यक्त गर्दै उनले सन्देशमा चैतेदशैँ पर्वले नेपालीबीच बन्धुत्व, प्रेम र एकताको भावना बढाई शान्त र समुन्नत नेपाल निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्