अन्तर्राष्ट्रिय

ताइवानका ८० प्रतिशत कामदार जागिर परिवर्तनको पक्षमा

ताइपेइ । ताइवानमा गरिएको एक सर्वेक्षणले कूल कामदारमध्ये ८० प्रतिशत कामदार आफ्नो जागिर परिवर्तन गर्ने पक्षमा रहेको देखाएको छ । सर्वेक्षणमा सहभागी पाँच जनामध्ये चार जनाले आफू जागिर परिवर्तन गर्ने योजनामा रहेको बताएका थिए ।

उनीहरुमध्ये अधिकांश आफ्नो जागिरबाट सन्तुष्ट हुन नसकेको पाइएको सर्वेक्षण प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनले सर्वेक्षणमा सहभागीमध्ये ३० प्रतिशतले राम्रा जागिर पाइने ठाउँमा निवेदन दिएको पनि देखाएको छ । जागिर परिवर्तन गर्न चाहनेमध्ये ५३।२ प्रतिशतले न्यून पारिश्रमिकका कारण जागिर परिवर्तन गर्न चाहेको बताएका थिए ।

त्यस बाहेकका अरू कामदारले भने कम्पनीले कामदारको विकासमा सहयोग नगरेको, तलब बढ्ने सम्भावना नभएको, लामो समयसम्म काम गर्नुपरेको, गरिरहेको कामप्रति रुची नभएको लगायतका कारणले जागिर परिवर्तन गर्न चाहेको जवाफ दिएका थिए । गत मार्च २० देखि यही अप्रिल ८ सम्म सर्वेक्षण गरिएको थियो । सर्वेक्षणमा अनलाइन मार्फत् एक हजार ३७० जना र प्रत्यक्ष भेटेर एक हजार आठ जना सहभागी भएका थिए ।