लुम्बिनी

फर्निचर उद्योगमा आगलागी

राँझा । नेपालगञ्ज उपमहानगरपालिका– १३ गङ्गापुरस्थित फर्निचर उद्योगमा आज आगलागी हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ ।

‘ओम प्लाइउड एण्ड फर्निचर उद्योग’मा आगलागी हुँदा उद्योगका दुई मेसिनमा क्षति पुग्नुका साथै उद्योगबाट उत्पादित सामग्री र उत्पादनका लागि राखिएको कच्चा पदार्थ जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले आगलागीबाट करीब रु ६ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।

आगलागीबाट उद्योगका अन्य सामग्रीमा समेत क्षति पुगेको उद्योग सञ्चालक पशुपतिदयाल मिश्राले जानकारी दिए। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी तथा नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाबाट आएको दमकलको सहयोगमा आगो निभाइएको वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक नारायण डाँगीले बताए।