पु.समाचार

राष्ट्रपतिबाट वैशाख १ गते मानपदवी दिइने

काठमाडौँ । सरकारले मुलुकका विभिन्न क्षेत्रमा योगदान पुर्याएका ३४३ जनालाई मानपदवी प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को निर्णयानुसार विभिन्न क्षेत्रबाट विभूषित हुन लागेका ५१७ मध्ये ३४३ जनालाई मानपदवी प्रदान गर्न लागिएको गृह मन्त्रालयले आज विज्ञप्ती मार्फत जनाएको छ । विसं २०७६ वैशाख १ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट उनीहरुलाई मानपदवी प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

यस्तै विभिन्न मुलुकबाट १४४ राष्ट्रसेवक तथा नेपाली नागरिकलाई विभिन्न प्रकृतिका विभूषण ग्रहणका लागि स्वीकृति दिनसमेत विभूषण समितिले मन्त्रिपरिषद्मा सिफारिश गरेको जनाइएको छ । राष्ट्रका विभिन्न क्षेत्रमा योगदान पुर्याएकामध्ये एक जनालाई नेपाल रत्न, चार जनालाई महाउज्ज्वल राष्ट्रदीप, एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री, दुई जनालाई उज्ज्वल कीर्तिमय राष्ट्रदीप र तीन जनालाई सुकीर्तिमय राष्ट्रदीपबाट विभूषित गरिने जनाइएको छ ।

यस्तै ९६ जनालाई सुप्रबल जनसेवाश्री, एक जनालाई कीर्तिमय राष्ट्रदीप, १६१ जनालाई प्रबल जनसेवाश्री, ७४ जनालाई जनसेवाश्री, ८७ जनालाई अलङ्कार र ८७ जनालाई पदक प्रदान गरिने मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को निर्णय बमोजिम उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा गृहमन्त्री रामबहादुर थापा, प्रा डा मीना वैद्य, प्रा डा इन्द्रजीत राई, हरिहर शर्मा, काशेन्द्रप्रसाद यादव, उपरथी विनोदकुमार श्रेष्ठ सदस्य तथा गृहसचिव प्रेमकुमार राई सदस्य सचिव रहेको विभूषण समिति गठन भएको थियो ।