गण्डकी प्रदेश

नावरुङ घरबासमा पर्यटकको भीड , गाउँको मुहार फेरिँदै

तनहुँ । भानु नगरपालिका–५ स्थित नावरुङमा सञ्चालित नावरुङ घरबासमा आन्तरिक पर्यटकको भीड बढेको छ । पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै त्यहाँ रहेका दुई घरबास भरिभराउ हुने गरेका छन् । घरबासमा पर्यटकको आगमनमा वृद्धि भएसँगै उक्त गाउँको मुहार फेरिएको नावरुङ घरबासका अध्यक्ष सतीदेवी मल्लले जानकारी दिए । आन्तरिक पर्यटक घरबासमा बस्न खाना मात्र नभई त्यहाँको मनोरम दृश्य र हरियाली पाखा पखेरामा रम्नको लागि आउने गरेको अध्यक्ष मल्लले बताए । उनले भने “पर्यटक बढेसँगै आयआर्जनमा समेत वृद्धि भएको छ ।”

शुरुका दिनमा पाहुना खासै नआए पनि पछिल्लो समय भने वृद्धि हुँदै गएपछि गाउँमा नै स्थानीयले मासिक रु १५ देखि २० हजार यही नै कमाइ गरेका उनले जानकारी दिए । दैनिक आन्तरिक पर्यटक आउन थालेपछि स्थानीयमा उत्साह थपिएको उनले बताए । विसं ०७३ मा १६ घर मिलेर दुई घरबास सञ्चालन गरेको उक्त गाउँको अहिले मुहारनै फेरिएको उनको भनाइ छ । कक फाइट घरबास र नावरुङ घरबास गरी उक्त गाउँमा दुई घरवास सञ्चालित छन् ।

घरबासमा आउने पाहुना त्यहाँको संरचना देख्ने बित्तिकै रम्ने गर्छन् भानु–५ का वडाध्यक्ष प्रकाश मल्लले बताए । उनले भने, “चिटिक्क परेको घर, फूलबारी, शहर बजारका घरमा जस्तो धुपीका बोट, रिसोर्टमा राखिने जस्ता रङ्गीवीरङ्गी छातालगायतका वस्तुले गाउँमा होइन शहरमै बसेको अनुभूति दिलाउने गरेको छ ।” त्यहाँ आएका पाहुनालाई युवायुवतीले परम्परागत वेषभूषामा सजिएर माला लगाई स्वागत गर्छन् भने सांस्कृतिक कार्यक्रम चुट्का, दोहोरीलगायतका गीत र नाच गरेर मनोरञ्जन दिने गरेका छन् । मगर, गुरुङ र ठकुरी समुदायका स्थानीय मिलेर सञ्चालन गरेको घरबासमा दैनिक १५ देखि २० जना पर्यटक आउने गरेका बताइएको छ । घरबास सञ्चालनपश्चात् गाउँ घरमै उत्पादन गरेको जैविक तरकारी घरबासमा नै खपत हुने गरेको घरबासका सदस्य कमला आलेले बताए ।

“गाउँमा उत्पादन भएका तरकारी यही नै बिक्री भएकाले सहज भएको छ”, उनले भने, “प्रायजसो घरबासमा जैविक खानाका परिकार एउटै प्रकारको हुने गरेको छ ।” उक्त घरबासमा बोयर जातको बोकाको सुकुटी पर्यटकलाई आकर्षित पार्न दिने गरिएको छ भने त्यस्तै सिस्नो, आँटो, गुन्द्रुक, भट्ट, लोकल कुखुराको मासु, रोटीलगायत व्यवस्था गरिएको छ । रु एक हजारमा बिहान–बेलुका मासु खाना र बिहान–दिउँसो नास्ताको व्यवस्थासहित बास बस्ने सुविधा रहेको छ । उक्त घरबास सञ्चालन गरिएको स्थलबाट ऐतिहासिक तनहुँसुर दरबार, भानुभक्तको जन्मगाउँ, प्रसिद्ध थानीमाई मन्दिर, मिर्लुङकोट र नेपालका दोस्रो प्रधानमन्त्री रङ्गनाथ पौडेलको जन्मगाउँसमेत देखिनुका साथै हिमशृङ्खला, सूर्योदय र सूर्यास्तसमेत यही ठाउँबाट नियाल्न सकिने हुँदा पर्यटकको आर्कषणको केन्द्रबिन्दु बन्दै गएको वडाध्यक्ष मल्लले बताए ।