समाचार

नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्छ: सभापति देउवा

पोखरा । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नव वर्ष २०७६ को शुभारम्भ पार्टी एकताका रुपमा हुनुपर्ने बताएका छन् ।

नेपाल महिला सङ्घद्वारा आज नयाँ वर्ष २०७६ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा उनले नयाँ वर्षको शुभकामना व्यक्त गरे । उनले पोखराबाट पार्टी एकताको सन्देश जनताका माझमा पुग्नुपर्ने उल्लेख गर्दै कास्कीमा आगामी दिनमा संसदीय उपनिर्वाचन हुने भएकाले पार्टीलाई एक्यबद्ध हुनुपर्ने विषयमा जोड दिए ।

काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ वर्ष २०७६ उपलब्धिमूलक एवं मङ्गलमय होस् भनी कामना व्यक्त गरे । आगामी १० महीनापछि पार्टीको १४ औँ महाधिवेशन गरी काँचुली फेनुपर्ने उल्लेख गर्दै वरिष्ठ नेता पौडेलले निर्धारित समयमा महाधिवेशन नभए काङ्ग्रेसलाई अपूरणीय क्षति हुने बताए ।

उनले नेपाल महिला सङ्घलाई पार्टीको सङ्गठनलाई बलियो बनाउन टोल–टोलमा समिति गठन गर्न आह्वान गरे । उक्त कार्यक्रम सङ्घकी पोखरा नगर समिति सभापति माया बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।